यस वर्ष यार्सागुम्बाको मुल्यमा गिरावट आएको छ । बझाङबाट यार्साको गुणस्तर हेरी प्रतिकिलो १७ लाख देखि २० लाख रुपैयाँको दरले खरिद गरेको यार्सा बिक्री नभएको व्यवसायीहरूको गुनासो छ । चीनका व्यापारीले प्रतिकिलो १२ लाख रुपैयाँ सम्म मात्र दिन तयार भएका कारण बिक्री गर्न नसकी एक महिना काठमाडौँमा बसेर बझाङ फिर्ता भएको बझाङका स्थानीय यार्सा व्यवसायिको भनाई छ । बझाङबाट यार्सा खरिद गरी काठमाडौँमा विक्रि गर्न गएका व्यापारीहरु काठमाडौँमा यार्साको भाउ नमिलेको भन्दै निराश भएका छन् । गत वर्ष चीनका व्यापारीलाई प्रतिकिलो २२ लाख रुैपयाँ सम्ममा यार्सा बिक्री गरे पनि यस वर्ष भने लागत मूल्य सम्म पाउन नसकेको भन्दै व्यवसायिले चिन्ता व्यक्त गरेका छन् । लागत मूल्य पनि नपाए पछि करिब साढे तीन क्विन्टल यार्सा खेर जाने अवस्थामा रहेको उनिहरुले बताएका छन् । काठमाडाँैमा यार्सा बिक्री नभए पछि व्यापारीहरूले यार्सा सङ्कलन गर्नेहरूको रकम समेत भुक्तानी गर्न नसकेको बताएका छन् । डिभिजन वन कार्यालय बझाङको अभिलेखमा यस वर्ष राजस्व तिरेर मात्रै तीन क्विन्टल ५० किलो ग्राम मात्र यार्सा निकासी भएको छ । यसले जिल्लाको व्यापारमा आर्थिक मन्दी देखिएको उद्योग वाणिज्य सङ्घले जानकारी दिएको छ ।