लगाएको उखु बाली खेतमै सुक्दै गएपछि पश्चिम नवलपरासीका किसान बिचल्लीमा परेका छन् ।
समयभन्दा करीब दुई महीना ढिलो सञ्चालनमा आएको चिनी उद्योगले किसानको सहजै रुपमा उखु खरीद नर्गदा किसान बिचल्लीमा परेका हुन् । अहिले पश्चिम नवलपरासी जिल्लामा रहेका इन्दिरा, लुम्बिनी र वाग्मती गरी तीन ठूला उद्योग सञ्चालनमा छन् भने मोहीनी चिनी उद्योग स्थापना भएको वर्षबाहेक पूर्ण रुपमा बन्द रहेको छ । सञ्चालनमा रहेका चिनी उद्योग पनि बीचबीचमा विभिन्न प्राविधिक कारणले अबरुद्ध हुनु र लुम्बिनी चिनी उद्योगले सूचना टाँस गरी केही दिनमात्रै उद्योग सञ्चालनमा आउने जनाएपछि यस वर्ष उत्पादन भएका सबै उखु पेलिने सम्भावना कम रहेको किसानको गुनासो छ । सञ्चालनमा आएका चिनी उद्योगले पनि उखु किसानसँग पर्याप्त मात्रामा उखु खरीद नगरेको किसानको गुनासो छ । इन्दीरासुगर मिलबाट अघिल्लो वर्षको करीब चार करोड उखु खरीद गरेवापतको बाँकी रकम हालसम्म पनि किसानले पाएका छैनन् । अझ चिनी उद्योगले उखु किसानले उत्पादन गरेको सबै उखु खरीद नगर्ने अवस्था देखिएपछि किसान मर्कामा परेका हुन् । पश्चिम नवलपरासीमा यसवर्ष करीब १८ लाख क्विन्टल उखु उत्पादन भएको अनुमान छ । चिनी उद्योगले यस यामभर उद्योग सञ्चालन गरेपनि करीब १२ लाख क्विन्टल मात्र उखु पेलिने अवस्था रहेको किसान बताउँछन् । अघिल्लो वर्षको रकम नपाउने र यस वर्ष सबै उखु उद्योगले खरीद नगर्ने भएपछि किसान दोहोरो मारमा परेका छन् । राज्यले उखु बालीलाई राष्ट्रिय बालीको रूपमा घोषणा गरे पनि उखु किसानको समस्या समाधान हुन सकेको छैन् । सरकारले उखुको मूल्य प्रतिक्विन्टल र ५ सय ३६.५६ पैसा निर्धारण गरिसकेको छ । पश्चिम नवलपरासीको सुस्ता प्रतापपुर र सरावल गाउँपालिकाको अधिकांश क्षेत्रमा उखु खेती हुँदैं आएको छ । पश्चिम नवलपरासीमा वार्षिक करीब १८ देखि २० लाख क्विन्टल उखु उत्पादन हुन्छ । जिल्लामा झण्डै १० हजार परिवार उखु खेतीमा संलग्न छन् ।।