अत्यधिक हिउँदे वर्षाका कारण बाँके र बर्दियामा लगाएको आलु ५० प्रतिशतले उत्पादन घट्ने अनुमान गरिएको छ । आलु उत्पादनमा असर गरेपछि यस क्षेत्रका किसानलाई १ अर्ब भन्दा बढी घाटा हुने आँकलन गरिएको छ । पश्चिम तराईका बाँके र बर्दिया जिल्ला तरकारी खेतीका लागि उर्वर क्षेत्र मानिएको छ । तर यसवर्ष अधिक वर्षा र शितलहरका कारण तरकारी किसान मारमा परेका छन् । आलु उत्पादन गरेर बिक्रि गर्ने समयमा लगातार हिउँदे वर्षा भएपछि किसान समस्यामा परेका हुन । माघको पहिलो साताभर हिउँदे वर्षा हुने मौषम पुर्वाअनुमान महाशाखाले जनाएको छ । यसले तरकारी र हिउँदे खेतीमा थप असर गर्ने देखिएको छ । बाँके हिरमिनियाका किसान कृपाराम मौर्यले आफुले लगाएको करिब ३ मेट्रिक टन आलु बारीमै बिग्रिएको बताउनुभएको छ । कृपाराम जस्तै हिरमिनियाका अन्य किसानले ५ सय हेक्टरमा लगाएको ५० प्रतिशत आलु ब्रिगिएको उनीहरुले बताएका छन । सोही कारण जिल्लामा करिब २० करोड बढीको आलु क्षति भएको स्थानीय अधिकारीले जनाएको छ । गतवर्ष बाँके र बर्दियामा ८८ हजार ३ सय १० मेट्रिक टन आलु उत्पादन भएको थियो । तर यसवर्ष उत्पादनमा ५० प्रतिशतले घट्ने आँकलन गरिएको कृषि ज्ञान केन्द्र नेपालगन्ज प्रमुख सागर ढकालले बताउनुभयो । वर्षा हुने क्रम जारी रहेकाले उत्पादन अझै घट्ने सम्भावना बढेको सोही क्षेत्रका जानकारहरुले बताएका छन । ५० प्रतिसत उत्पादन घटने भएपछि बाँके र बर्दियाका किसानलाई आलु उत्पादनबाट करिब १ अर्ब २३ करोड घाटा लाग्ने भएको छ ।।