कोशी टप्पु वन्य जन्तु आरक्ष क्षेत्रमा पछिल्लो समय चराको संख्या घट्दै आएको छ । तालतलैया सक्नु र आहाराको मुख्य समस्याले गर्दा चराको संख्या घटेको ठहर गरिएको छ ।

‘खानु पर्ने भोजनमा पनि कमी आयो अनि सुरक्षा पनि भएन,’ आरक्षका संरक्षण अधिकृत रामदेव चौधरीले भने, ‘बसाई सरेर आउने पाहुना चराको संख्यामा यस वर्ष कमी आएको हो ।’ उनका अनुसार आरक्ष क्षेत्रभित्र माछा मार्न खुल्ला गरेकाले गर्दा पनि अहारामा समस्या भएको हो । ‘खानुपर्ने भोजन छैन, माछा मार्नका कारण चराको सुरक्षा छैन,’ उनले भने ।

कोशी टप्पु आरक्ष आसपासका क्षेत्रमा थुप्रै परिवार माछा मारेरै परिवार पाल्ने छन् । २०६५ भदौ–२ गते कोशी गाउँपालिकाको पश्चिम कुसाहा–४ मा सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएपछि कोशी टप्पुको सुनसरीमा पर्ने ठुलो भाग मरुभुमि बनाएपछि मानवीय चापसँगै चराको संख्या घटेको थियो । पछिल्ला केही वर्षसम्म केही हदसम्म आशालाग्दो गरी चराको संख्या आउने गरेपनि कोशीले तटबन्ध भत्काउनुअघि जस्तो अहिलेसम्म नभएको आरक्ष प्रशासनले जनायो । आरक्ष प्रशासनका अनुसार यकिन तथ्याङ्क नभएतापनि कोशीले पूर्वी तटबन्ध भत्काउनुअघिको तुलनामा अहिले ५० प्रतिशत नै बसाई सरेर आउने चरामा कमी आएको अनुमान गरिएको छ ।

यो वर्ष चखेवा, जलहाँस, बिजुला गोइरी, स्वेत आँखी भुईंलगायतका जातका चरा बढी मात्रमा देखिएका छन् । ट्याकट्याके, बेल्चाढुँडे हास, सुडसुडियाजस्ता चरा पनि थुप्रै भेटिएका छन् । ठूल्ठूला चिल र महाचिल पनि देखिएपनि ठूलो संख्यामा भने देखिएका छैनन् ।

कात्तिक पहिलो सातादेखि आउँन थालेका पाहुना चरा पुस दोस्रो सातासम्म आउँने गर्छन् । तर, अब थप चरा आउने आशा भने कमै मात्र रहेको छ। ‘यस वर्ष ढिलो भयो कि भन्ने पनि छ, तर अब आउने आशा कमै होला,’ चराविद् डाक्टर हेमसागर बरालले भने, ‘९० प्रतिशत हिउँदे पाहुना चरा नेपालमा आइ सके ।’

यहाँ रैथाने प्रजातिका चरा संख्यामा कमी भएपनि सवै खाले देख्न पाइन्छ । खासगरेर आगन्तुक पाहना चरा भने कमी भएको हो । नेपालमा कुल ८ सय ८८ प्रजातिका चरा पाइन्छन् । जसमध्ये लगभग २ सय प्रजाति सिमसारमा निर्भर छन् । हा“सका मात्र ३४ प्रजाति नेपालमा पाइन्छन् । कोशी टप्पुमा मात्र पाँच सय २६ प्रजातिका चरा पाइने गरेका छन् । यहाँ विश्वमै संकटापन्न सुचीमा रहेका २९ प्रजातिका चरा पनि पाइन्छन् ।
त्यसो त एक सय ५२ विघा क्षेत्रफलमा फैलिएर महाभारत कालदेखि नै रहेको सुनसरी दक्षिणवर्ती क्षेत्रको बर्जुतालमा भने पाहुना चरा बढ्न थालेका छन् । २०५२ सालदेखि ताल संरक्षण गर्न थालिएको ताल अहिले व्यवस्थित भई सकेको छ । जसले गर्दा पाहुना चरा बढ्न थालेका हुन् ।

‘नेपालको सन्दर्भमा चराका लागि दोस्रो महत्वपूर्ण ताल बर्जु भएको छ,’ चराविद् बरालले भने । नेपालको पहिलो चराको लागि महत्वपूर्ण ताल कपिलवस्तुको जगदीसपुरलाई चिनिन्छ । ‘कोशी टप्पुका कतिपय चरा बर्जुमा सरेका छन,’ बरालले भने, ‘ठूलो जलासय भएको ठाउँ बर्जु ताल भएकाले गर्दा चराको मुख्य आकर्षणको केन्द्र बन्न थालेको छ ।’

२०२६ सालताका तालभन्दा पश्चिम तर्फबाट खेतमा पानी लगाउँन नहर खन्निएपछि तालको पश्चिम तर्फको बाध फुटेर पूर्णरुपमा सुख्खा भएको थियो । २०५२ सालदेखि तालको संरक्षणमा स्थानीयबासी जुटेका थिए । चार वर्षदेखि तालको पानी जम्न थालेको छ । जसमध्ये आधाभाग भने अझै पनि हिउँदको समयमा पानी कमै मात्रमा हुने गरेको छ।

यहाँ २०२६ सालअघिसम्म हजारौ–हजारको संख्यामा चरा आउँथे । तर, बीचमा तालको बाध भत्किएर सुख्खा भएकाले गर्दा आएनन, बाध बाधेर व्यवस्थित गर्न थालेसँगै चरा आउँन थालेका हुन् । अहिले यहाँ एक सयभन्दा बढी प्रजातिका चरा आउने गरेका छन् । यसरी आउने चरा ठूलो संख्यामा देख्न पाइन्छ । जसले गर्दा जो कोही त्यहाँ पुग्दा चराप्रति मोहित हुने गर्छन् ।