घोराही। कुनै समय एक गाग्रो पानी ल्याउन र गाईभैँसीलाई पानी खुवाउन एक घण्टा परको कटुवाखोलासम्म पुग्नुपर्ने बाध्यता अहिले घोराही–१७ का बासिन्दालाई हटेको छ।

करीब सात वर्ष पहिले गाउँमा पानीको खडेरी परेपछि उनीहरुले तत्कालीन घोराही नगरपालिकासँग पोखरी निर्माणका लागि माग गरे। नगरपालिकाले पनि केही रकम दियो। बस्तुभाउलाई पानी खुवाउनकै लागि भए पनि पोखरी निर्माण गरी आकाशे पानी जम्मा गर्ने उनीहरुको योजना थियो । सोही अनुरुप नरपालिकाको आर्थिक सहयोग र गाउँलेको श्रमदानबाट सानो पोखरी निर्माण भयो।

घोराही–१७ आरोग्य टोल सुधार समितिका अध्यक्ष हिरामणि पोखरेल भन्नुहुन्छ, “गाउँमा पोखरी निर्माण गरेपछि बस्तुभाउलाई पानी खुवाउन मात्र होइन, सिँचाइ सुविधा पनि भयो ।” सोही पोखरीलाई ठूलो बनाउने हामी सबैको योजना बमोजिम स्थानीय निकायसँग केही बजेट माग गरियो र पाइयो पनि ।

हरेक वर्ष केही न केही रकम पोखरीको स्तरवृद्धिका लागि उपलब्ध भएपछि र पोखरीलाई ठूलो जलाशयमा परिणत गर्न गाउँले जुटेकाले अहिले गाउँ बाह्रैमास हरियाली हुनपुगेको उनी बताउँछन्। अहिले पोखरीमा आफूहरुले माछापालन गरिरहेको र सोही पानीले बेमौसमी तरकारी खेती एवं वर्षात् र हिउँदमा रोपाइसमेत हुँदै आएको छ ।

यसैगरी घोराही–१८ को सालघारीमा रहेको जलाशयले पनि गाउँमा हरियाली ल्याएको छ। त्यतिमात्रै होइन, गाउँमा जलाशय बनेपछि ट्युवेल र कुवाको पानीसमेत सुक्न छाडेको स्थानीयवासी बताउँछन् । कटाहीमा रहेको अर्को जलाशयले पनि खेतीपातीमा निकै टेवा पुर्याइरहेको स्थानीयवासी छल्लु चौधरी बताउँ। जलाशय निर्माण समितिका अध्यक्षसमेत रहनुभएका चौधरी जलाशयकै कारण पहिले आकाशे खेती गर्ने ४० बिघा जमीनमा सिँचाइ हुनथालेको उल्लेख गर्छन्।

आफूहरुले जनतालाई आयआर्जनमा लगाएर समृद्धि ल्याउने खालका विकासे काम गर्न खोजेको घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीको भनाइ छ ।

उपमहानगरले गरेका अरु विकासे कामभन्दा हिउँदयाममा खडेरी पर्ने गाउँमा जलाशय निर्माण गर्दा बहुउपयोगी भएको उनको जिकिर छ । खेतीपाती, माछापालन, डुङ्गा सञ्चालन गरेर पनि स्थानीयवासीले फाइदा लिइरहेको उनी बताउँछन्।

उक्त उपमहानगरपालिकाका इञ्जिनीयर रामधन श्रेष्ठ पनि वर्षाको समयमा आकाशबाट आउने पानीलाई सङ्कलन गरी स्थानीयवासीको जीविकोपार्जन र आयआर्जनमा जोड दिने उद्देश्यले जलाशय निर्माणलाई प्राथमिता दिइएको जानकारी दिन्छन्।

उनका अनुसार कार्यालयले अहिले घोराहीको वडा नं १७ को ढिकपुर र गुलरिया, वडा नं १६ को गङ्गटे र ज्यामिरे भन्ने स्थानमा कृतिम जलाशय निर्माण गरिएकोे छ । यस्तै वडा नं १८ को गिठेपानी, १२ को सिस्नेरीलगायतका स्थानमा नयाँ कृत्रिम जलाशय बनाइसकिएको छ।

इञ्जिनीयर श्रेष्ठका अनुसार उपमहानगरले वडा नं १६ को ज्यामिरेमा पहिलेदेखि नै रहेका थप दुई जलाशय मर्मत भइरहेकोे छ भने घोराही १७ गुलरियामा रहेको जलाशय, १६ को गङ्गटे, १८ को सल्लाघारी, डवरीलगायत स्थानमा रहेको कृत्रिम जलाशयलाई थप निर्माण तथा ममर्त गरी सिँचाइका लागि पानी पर्याप्त बनाएको छ।

यी स्थानमा बनाइएका जलाशयमा स्थानीयवासीले सिँचाइ, माछापालन, तरकारीखेती, फलफूलखेती मात्र नभई व्यावसायिक पर्यटन प्रवद्र्धन, हाँसपालन समेत भइरहेको जानकारी दिँदै उनी भन्छन्, “मुख्य कुरा जलवायु अनुकूलकै लागि गरिएको हो । गाउँमा रहेको कुवा, इनार, जरुवा, ट्युवेलको पानी नसुकोस् भनेर पनि कृत्रिम जलाशयमा उपमहानगरले लगानी गरेको हो गर्दै आएको छ ।”

यस्तै पशुचौपाया, वन्यजन्तु, चराचुरुङ्गीको बासस्थान सुरक्षित गर्न र कलकारखानालाई आवश्यक पानीको आपूर्तिमा पनि यसले सहज बनाइरहेकोे उनको भनाइ छ । अहिले ठाउँठाउँमा बनाइएको र बन्न थालेका कृत्रिम जलाशय एउटा सानो पर्यटकीय क्षेत्र जस्तो बन्न थालेको र उपमहानगरको आन्तरिक आय वृद्धिमा पनि जलाशयले टेवा पु¥याइरहेको छ।