सङ्खुवासभा। कालो सुन भनेर चिनिने अलैँचीलाई परम्परागत भट्टीमा सुकाउँदा गुणस्तर खस्किँने र मूल्य पनि कम पाउने चर्चा सरोकारवालाको मुखमा झुण्डिने विषय हो । अलैँची खाद्यवस्तु भएकोले धूवाँरहित आधुनिक भट्टीमा सुकाउनुपर्ने भनिए पनि व्यवहारमा देखिएको छैन ।

यस वर्षको अलैँची सुकाउने समय सकिँदा एकाध कृषकले बाहेक सबैले आधुनिक भट्टीमा नै अलैँची सुकाएका छन् । अलैँची सुकाउन आधुनिक भट्टी प्रयोग गर्नुपर्ने भनिए पनि सरोकारवाला र कृषक दुवै पक्षको चासो कम छ ।

सङ्खुवासभास्थित सिलिचोङ गाउँपालिका ३ ताम्कु याचम्खा टोलका हरिकुमार कुलुङले अलैँची आधुनिक भट्टीमा सुकाउनुपर्ने भनेर सुनेको तर प्रयोगमा ल्याउन नसकेको बताउनुभयो ।

आधुनिक भट्टी बनाउन ज्ञान र सीप नभएकोले गाउँघरमा पुरानै तरिकाको भट्टीमा कृषकले सुकाउँदै आएको उहाँको भनाइ छ । उहाँका अनुसार परम्परागत भट्टीमा भार लगाएको २४ घण्टाभित्र झार्न सकिन्छ ।

भारमुनि सीधै आगो लगाउने भएकोले कहिलेकाहीँ अलैँची नै डढ्ने गरेको उहाँले बताउनुभयो । आधुनिक भट्टीमा भए त डढ्ने सम्भावना हँुदैनथ्यो, कुलुङले भन्नुभयो ।

अलैँचीको राम्रो उत्पादन क्षेत्रका रूपमा मानिएका चिचिला गाउँपालिका र मकालु गाउँपालिकामा पनि आधुनिक भट्टीको प्रयोग भएको छैन । केही वर्षअघि चिचिला गाउँपालिकामा एक कृषकले आधुनिक भट्टी जडान गरे पनि अलैँची सुक्न समय लाग्ने र मूल्यमा फरक नपाएपछि पुनः पुरानै भट्टीमा सुकाउन थालेको स्थानीय नयन्द्र राईले बताउनुभयो । लामो समय लगाएर आधुनिक भट्टीमा सुकाएको अलैँचीले बढी मूल्य पाए धेरै कृषकले पुरानो शैली छोड्न सक्ने उहाँको तर्क छ ।

यस विषयमा अलैँची व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष सुमन श्रेष्ठसँग कुरा गर्दा मूल्यमा त्यति धेरै फरक नभएको स्वीकार्नुभयो ।

भारतीय बजारमा आधुनिक भट्टीमा सुकाएको अलैँचीलाई प्रतिमन ९४० किलोग्राम० चार हजार रुपियाँँसम्म बढी मूल्य किसानलाई दिए पनि नेपालमा त्यस्तो व्यवस्था नहुँदा आधुनिक भट्टीमा किसानको रुचि कम भएको श्रेष्ठको भनाइ छ ।

नेपालबाट विदेश निर्यात हुने विर्तामोडबाट नै गुणस्तरीय अलैँचीलाई बढी मूल्य नदिएको उहाँले बताउनुभयो । भारतबाहेक अन्य देशमा शतप्रतिशत रातो
(आधुनिक भट्टीमा सुकाइएको धूवाँरहित) अलैँचीको माग नभएकोले पुरानै प्रकृतिको भट्टीमा अलैँची सुकाउने कामले निरन्तरता पाएको उहाँको भनाइ छ ।

सङ्खुवासभामा सिलिचोङ, चिचिला र सभापोखरी गाउँपालिकामा सबैभन्दा बढी अलैँची उत्पादन हुने गर्दछ । जिल्लाबाट प्रतिवर्ष करिब तीन सय मेटिक टन अलैँची उत्पादन हुने गर्दछ ।