लमजुङ। दोर्दी खोलाको किनारैमा जस्ताको छानामात्र भएको सानो टहरा छ । टहराभित्र काठका मुढा लडिरहेका छन् । मुढालाई सुम्सुम्याउँदै कहिले यता कहिले उता पल्टाउने कृष्णबहादुर विकलाई फुर्सद नै छैन ।

लामो फलामको छिनो, धारिलो टुप्पो अलिकति कोप्रिएको, त्यही छिनोले काठका मुढा कोट्याएर मनग्य आम्दानी ।

कुमालेको चक्रजस्तै घुम्ने बिजुली मेसिनमा काठका मुढा घुमाउँदै कृष्णबहादुर बिहान, दिउँसो र साँझ ठेकी बनाउने कारखानामा व्यस्त छन् । १६ वर्षको उमेरदेखि बुबा जुठे विकसँग सीप सिकेर पेसामा लागेका विक करिब चार दशक काठको ठेकी बनाएरै बितेको बताउँछन् ।

ठेकीबाट भएको आम्दानी विकको घरखर्चमा मात्रै सीमित छैन, उनले आफ्ना छोराछोरीको शिक्षामा लगानी गरेका छन् । ‘तीन छोरा विदेशमा छन्, माइलो छोरा अहिले त्रिभुवन विश्वविद्यालयमा एमए पढ्दैछ,’ उनी भन्छन्, ‘ठेकी बेचेर नै पढाएको हुँ ।’

काठको ठेकी अहिले प्रतिमानाको रु ३०० मा बिक्री हुन्छ । ‘एक मानादेखि २२ माना सम्मका ठेकी बनाउँछु,’ उनी भन्छन्, ‘एउटा ठेकीबाट रु सात हजारसम्म आम्दानी हुन्छ ।’

कृष्णबहादुरको ठेकी बनाउने पेसालाई आफ्नै भाइले साथ दिएका छन् । उनका भाइ मनबहादुर, राजेन्द्र र बुद्धिबहादुर पनि दाजुसँगै ठेकी बनाउँछन् । ‘जङ्गलमा काठ काट्नेदेखि लिएर बिक्रीका लागि गाउँसम्म पु¥याउन भाइले साथ दिएका छन्,’ उनले भने ।

दही जमाउने ठेकीबाहेक सुरही, पुचै, पुङ ठेकी, तुम्वा लगायतका सामग्री बनाउने गरेको उनी बताउँछन् ।

‘मेरो त उमेर पनि सकियो, काठको ठेकीमै जम्यो जिन्दगी, पढेको छैन, जति जानेको छु बुबाले नै सिकाउनुभयो,’ उनी भन्छन्, ‘अब छोराहरु यो पेसामा बाँच्न सक्दैनन् ।’

पहिले ठेकी बनाउन निकै समस्या थियो । पानीबाट मेसिन चलाएर ठेकी बनाउनु पर्थ्यो, अहिले बिजुलीबाट चल्ने मेसिन छ । ‘वनबाट काठ ल्याएपछि दैनिक पाँचवटासम्म ठेकी बनाउन सकिन्छ,’ विकले भने ।

पर्याप्त ठेकी बनाउन सकेपनि पछिल्लो समय काठका ठेकी बिक्री हुन छाडेको विकले गुनासो गरे । ठेकी बिक्रीका लागि टाढा टाढा गाउँमा जानुपर्ने उनी बताउँछन् ।

‘पहिला पहिला ठेकी मगाउन घरमै आइपुग्थे, अहिले गाउँलेको घरमै पु¥याउँदा पनि खरिद गर्न छाडेका छन्,’ विकले भने, ‘अधिकांश गाउँले सहरतर्फ झर्ने र गाउँमा गाई–भैँसी पाल्ने किसान नहुँदा ठेकी बिक्री गर्न समस्या भएको छ ।’

ग्रामीण क्षेत्रमा किसानले दही जमाएर मोही पार्ने र राख्ने सामग्रीका रूपमा ठेकीको प्रयोग हुँदै आएकामा अहिले पशुपालन कम हुन थालेपछि यसको प्रयोगमा कमी आएको हो । हिजोआज प्लास्टिक तथा धातुका सामान प्रयोग हुन थालेपछि काठको ठेकी लोप हुने अवस्थामा पुगेको हो ।

पछिल्लो समय बिक्री वितरणमा कमी हुने र पर्याप्त काठ नपाउने हुँदा पनि ठेकी बनाउने पेसा सङ्कटमा परेको छ । ठेकी बनाउनका लागि दार, कटहर, खिर्रो लगायतका काठको प्रयोग हुन्छ ।

हिजोआज ती काठ कम पाइने र कालीगढसमेत नपाइने हुनाले पनि ठेकीको प्रयोगमा कमी आएको हो । फेरि ठेकी बनाउन समय धेरै लाग्ने र परिश्रम अनुसारको मूल्य नपाइने भएकाले पनि कालीगढले ठेकी बनाउन कम गरेका छन् ।