मनसुन भित्रिए सँगै काठमाडौँ उपत्यका भित्रका किसानहरुलाई धान रोप्ने चटारो बढेको छ । काठमाडौँ उपत्यका धेरै उब्जनी हुने माटो भएको ठाउँ हो । बढ्दो शहरीकरणले धान फल्ने खेतमा बहु तले घर ठडिएका छन् । तर उपत्यकाको काँठ क्षेत्रमा अझै खेति योग्य जमीन बाँकी छ । यिनै काँठ, ढाप र डोलहरुमा धान रोपाइँ सुरु भएको छ । उपत्यकाको अधिकांश क्षेत्रमा ताइचिन र मन्सुली (खुमल ४) धान लगाउने चलन छ । यसका साथै खुमल ११ र डोल क्षेत्रमा स्थानीय एक्ले धान लगाउने चलन छ । काठमाडौँमा प्रख्यात रहेको पोखरेली मसिनो र थापचिनी धान हराइसकेको छ ।

काठमाडौँका धानफल्ने फाँट खुम्चिदै गएका छन् । यसलाई खुम्च्याउन तरकारी खेतीका टनेल, कुखुरा बंगुर–सुँगुर पालनले पनि सहयोग गरेका छन् । पछिल्लो समय काठमाडौँको धानमा बर्णशंकर बिउले बिकृति ल्याएको किसानहरुले बताएका छन् । बढी उत्पादन हुने लोभमा स्थानीय जातलाई छोडेर बर्णशंकर (हाइब्रिड) धान लगाउदा स्थानीय धानको जात मासिएको अगुवा किसानउद्धवअधिकारीलेबताउनुभयो ।

स्थानीय जातको धान हराउदा धान चामल सँग जोडिएको संस्कृति पनि हराएको अगुवा किसान अधिकारीले बताउनु भयो । यसको अर्को असर स्थानीयबासीको पोषण चक्र समेत भत्किएको छ ।
यसपालिको धान रोपाइँ बिगत वर्ष जस्तो छैन । कोरोना संक्रमणको जोखिमका बीच रोपाइको काम गर्नु परेको छ । संक्रमण हुने डरले खेतमा काम गर्ने खेताला समेत पाउन मुस्किल भएको छ । ललितपुर छम्पि क्षेत्रको खेतमा भेटिएका किसान राम चन्द्र तामांगले संक्रमणको डरको बीचमा काम गर्नु परेको बताउनु भयो ।

काठमाडौँ उपत्यकामा जेठ ३१ गते सम्म निषेधाज्ञा तोकिएको छ। निषेधाज्ञाले घरबाट खेत सम्म आउनजान मल विषाधि किन्न समस्या परेको किसानहरुले बताएका छन् ।