शिवा शार्मा, बर्दिया । २००३ साल कार्तिक १५ गते बनारसमा वि.पी. कोईरालाको सकृयतामा देवी प्रसाद सापकोटाको सभापतित्वमा अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस पार्टीको गठन भएको थियो । २००३ माघ १२ र १३ गतेको कोलकाताको भवानीपुर स्थित खालसा हाईस्कूलमा भएको वि.पी. कोईरालाको सभापतित्वमा पहिलो महाधिवेशनले यसको नाम परिवर्तन गरि नेपाली राष्ट्रिय कांग्रेस राख्यो । यस अधिवेशनले वि पीलाई सभापति चुन्यो भने नेपालको कारागारमा आजीवन जेल सजाय भोगी रहेका टंक प्रसाद आचार्यलाई मानार्थ सभापति बनायो । यस अधिवेशनले राज्य स्थापनाको दैवी सिद्धान्तलाई चुनौति दिंदै नेपाल र नेपाली जनताको सार्वभौम अधिकारको स्थापनाका लागि आफ्नो कर्तव्य नबुझ्ने राजा प्रजाको शत्रु हो भन्ने मुल मान्यतालाई आत्मसात् गर्दै अहिंसात्मक आन्दोलन गर्ने निर्णय गर्यो । जबकि १०० वर्ष देखि राजा अधिकारविहीन थिए । दोश्रो अधिवेशन बनारस र तेश्रो महाअधिवेशन बिहारको दरभङ्गामा भयो ।

नेपाली कांग्रेसमा फूट भए पछि सुवर्ण शमशेर राणाको सकृयतामा महेन्द्र विक्रम शाहलाई सभापति बनाई २००४ साल साउन १ गते नेपाली प्रजातंत्र कांग्रेसको गठन भएको थियो । यसको पहिलो अधिवेशन कोलकातामा भएको थियो ।यसको लक्ष्य पनि नेपाली राष्ट्रिय कांग्रेस जस्तै भए पनि यसले राणा शासन विरूद्ध हिंसात्मक आन्दोलन गर्ने निर्णय गर्दै स्वयं सेवक संघ गठन गर्यो । जनआन्दोलन आवश्यकता , आफ्नो विचार , धारणा , मर्म र उद्देश्य सार्वजनिक गर्न राष्ट्र पुकार पत्रिकाको प्रकाशन शुरू गर्यो ।

२००६ फागुन १२ मा यी दुई पार्टीका सभापति मातृका प्रसाद कोईराला र महेन्द्र विक्रम शाहले संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरे ।२७ चैत २००६ मा कोलकातामा भएको चौथो महाधिवेशनवाट यी दुबै पार्टी एक भए ।

तत्कालिन प्रधानमंत्री कृष्ण प्रसाद भट्टराईका प्रमुख सल्लाहकार तथा प्राध्यापक पेशल निरौला अनुसार – नेपाली राष्ट्रिय कांग्रेसको झण्डामा माथी सेतो हिमाल दायाँ बायाँ पशुपति र गुह्येश्वरी (शिव–शक्ति), बीचका पहाडमा भएको हरियो जङ्गलको प्रतीक हरियो रङ्ग र तल तराईको पहेंलपुर धानका बालाको प्रतीक पहेंलो रङ्ग थियो भने झण्डाको बीचमा उदाउँदो सूर्य । यस झण्डाले नेपालको प्राकृतिक एकता र यहाँको मौलिक पाशुवत शैव धर्मको आदर्शपूर्ण संस्कृति बोकेको थियो भने उदाउँदो सूर्यले त्यो लक्ष्य प्राप्तिको आशापूर्ण भविष्यको कल्पना गरेको थियो । दुई काङ्ग्रेसको एकीकरण पछि यो झण्डाको अस्तित्व समाप्त भई अमेरिकी विचार बोकेको चारतारे झण्डा आयो ।

चारतारे झण्डाको सिद्धान्त अमेरिकन राष्ट्रपति फ्र्याङ्कलिन डि रूजवेल्टको स्वतंत्रताको सिद्धान्त हो । यी चार ताराको अर्थ वाक् स्वतंत्रता, ईश्वरलाई आफ्नै तरिकाले पूज्ने स्वतंत्रता, गरिबीवाट मुक्ति र डरवाट मुक्ति । कांग्रेसको समाजवाद युरोपले अपनाएको समाजवादको हुबहु नक्कल हो । यस पार्टीमा कुनै नेपालीपन छैन । यसरि नेपाली कांग्रेसले आफ्नो मौलिकपनलाई त्यागेर आफ्नो गौरवपूर्ण मुलुकको अस्तित्वलाई तिलाञ्जली दिएर अमेरिकी नीतीको पक्षधर भयो । यसको निरन्तरता अहिले पनि विद्यमान छ । राष्ट्रघाती ःऋऋ पास गर्न नेपाली कांग्रेस मरिहत्ते गर्नु यो पार्टीको स्थापना कालकै नीती हो । सुरुमा अखिल भारतीय राष्ट्रिय कांग्रेसको रुपमा स्थापना भएको यो पार्टी अहिले पनि भारत र अमेरिका प्रति उत्तिनै बफादार छ ।

वि.स १९९३ सालमा टंक प्रसाद आर्चायको नेतृत्वमा भुमिगत रुपमा स्थापित नेपाल प्रजापरिषदले चटृान जस्तै भएर बसेको राणा शासनको जगलाई नराम्ररी हल्लाई दियो । राणा विरुद्ध खबरदारी गरी छरिएको पर्चाले राणा शासनको जगलाई हल्लाए पछि देश भित्र जनतामा स्वतन्त्रताका पक्ष्यमा भावनात्मक एकता बढदै गयो ।त्यस बेलाको नेपालको अवस्था चेतना र सञ्चार दुबै तहमा अत्याधिक गरीब थियो अन्यथा प्रजापरिषदको सानो अगुल्टाले डढेलो जस्तो आगो सल्किएर राणा शासनको अन्त्य भएर त्यही समयमा देशमा प्रजातन्त्र प्राप्त हुने थियो । जहानिया राणा शासनको विरुद्धमा देश भित्र बोल्न र लेख्न सक्ने साहस कुनै नेपाली नागरिकमा नभएको अवस्थामा प्रजातन्त्र प्राप्तिका लागि प्रजापरिषद नामको पहिलो राजनीतिक दल स्थापना गरी राणाहरुको विरुद्धमा देश भित्र बसेर चर्को स्वरले विरोध जनाउने पहिलो नेपाली नागरिक हुन टंक प्रासद आचार्य तर दुर्भाग्य तिनै टंक प्रसाद आचार्य र तिनका सन्ततीहरुको नेपालको प्रजातान्त्रीक ईतिहासमा नाम खा्ेजेर भेटिदैन ।

त्यस्तै दुर्भाग्य नेपाली राष्ट्रिय काग्रेस र नेपाली प्रजातान्त्रीक काग्रेस बिच एकिकरण भएर वि.स २००६मा स्थापना भएको नेपाली काग्रेसका संस्थापक सभापति मातृका प्रसाद कोईराला र सुवर्ण शमसेर राणाको पनि छ । १०४ वर्षे जहानिया राणा शासनको अन्त्यका लागि नेपाली काग्रेसले गरेको सशस्त्र आन्दोलनको नेतृत्व मातृका प्रसाद कोईरालाले गरेका थिए भने नेपाली काग्रेशले गरेको त्यो सशस्त्र आन्दोलनको सम्पूर्ण खर्च सुवंर्ण शमसेरले ब्यहोरेका थिए तर आज नेपालमा सबै भन्दा लामो समयसम्म शासन गर्ने नेपाली काग्रेसले ति दुबै आफना नेताहरुको इतिहास बिर्सिसकेको छ र आज तिनका सन्ततीहरुलाई पनि नेपाली काग्रेसले ओझेलमा पारेको छ ।

वि.सं. २००६ सालमा स्थापना भएको नेपाली काग्रेस भित्र योगदान दिने कार्यकर्ता र तिनका सन्ततीलाई पाखा लगाएर अवसरबादीहरुले शासन गर्ने परम्परा केन्द्रमा मात्र नभएर बर्दिया जिल्लामा पनि देखिएको छ । वि.स २०१५ सालको आम निर्वाचनमा बर्दिया क्षेत्रबाट निवार्चन क्षेत्र न. ६४ मा अत्याधिक बहुमत प्राप्त गरी विजयी भएका राधाकृष्ण थारुको अध्यक्षतामा २०३४ साल माघ १२ गते ज्ञानराज शर्मा, सुरेशराज शर्मा, सर्यु थारु, बेदराज शर्मा, चिरन्जीबि घिमिरे, ओमकार शर्मा (घिमिरे), खगेन्द्र रेग्मी, खेमराज शर्मा, सुकदेब शर्मा र कलिराम थारुहरु सामेल भएर नेपाली काग्रेस तर्दथ जिल्ला कार्य समिति बर्दियाको स्थापना गरेका थिए । तिनै महानुभावहरुको सक्रियताले गर्दा वि.स २०३६ सालमा निर्दल र बहुदलका लागि भएको जनमत सग्रहमा बहुदलले बर्दिया जिल्लामा ३१हजार ४सय ४८ मत प्राप्त गरेको थियो भने निर्दलको पक्षमा १९ हजार १ सय ९२ मत आएको थियो तर २०३४ सालमा पंचायतको एकतन्त्रीय ब्यवस्थामा प्रजातन्त्र प्राप्तका लागि आफनो जीवनको आहुति दिन तयार तत्कालिन नेपाली काग्रेस जिल्ला तदर्थ समिति बर्दियाका सभापति लगायत सदस्यहरु र तिनका सन्ततीहरु आज नेपाली काग्रेस बर्दियाको राजनीतिमा ओझेलमा परेका छन ।नेपाली काग्रेस बर्दियाका पुर्व सभापतिहरु राधा कृष्ण थारु ,सुरेशराज शर्मा, पूणराज शर्मा (लल्लु बाबु), ज्ञानराज शर्मा, नारायण शर्माहरुको अरुण सिंह राठोर योगदानलाई नेपाली काग्रेस बर्दियाले बिर्सिएको छ । उल्लेखीत पूर्व सभापतिहरु मध्ये दुईजना राधाकृष्ण थारु र सुरेशराज शर्माका छोराहरु मंगल प्रसाद थारु र कमल राज शर्माले नेपाली काग्रेसबाट जिल्लामा सक्रिय राजनीति गर्न खोजे पनि केही अवसरबादीहरुले दुबैलाई अगाडी बढन दिएनन् । कमलराज शर्माले आफ्नो राजनीतिक जीवनभरी पाएका भनेको नेपालीे काग्रेसबाट गुलरिया गा.वि.स.को टिकट त्यसमा उनी बिजय भएका थिए । उनको अल्पआयूमा मृत्यु भयो हाल उनका छोरा सुधान्सु शर्मा नेपाली काग्रेस बर्दियाको राजनीतिमा सक्रिय भएता पनि ओझेलमा परेका छन ।नेपाली काग्रेसको १४ औं महाधिवेशनमा पार्टिको आन्तरिक निर्वाचनबाट गुलरिया नगर सभापति हुन खोज्दा समेत उनी उम्मेदवार हुन सकेनन् । बर्दियाका धेरै जसो राजनीतिक विश्लेषकहरुको भनाई अनुसार उनका बाबु कमलराज शर्मालाई जस्तै उनलाई पनि नेपाली काग्रेसमा सक्रिय राजनीति गरेर अगाडी बढन धेरै गाह्रो छ ।

मंगल प्रसाद थारुको राजनीति उतार चडाब भने कमल राज शर्मा र सुधांसु शर्मा को भन्दा भिन्न छ । नेपाली काग्रेसले मंगल प्रसाद थारुलाई २०४८ सालमा बर्दिया जिल्लाको निर्वाचन क्षेत्र न. १ र २ मा उम्मेदवार बनायो । उनी नेकपा एमालेका उम्मेदवार बामदेब गौतम र खागराज शर्मासंग दुबै निवार्चन क्षेत्रमा पराजित भए । २०४८ सालमा बर्दिया नेपाली काग्रेसमा प्रतिनिधि सभाको चुनाब लडने कुनै नेता तयार नभएकाले निर्वाचन क्षेत्र न. १ र २ मा नेपाली काग्रेसले मंगल प्रसाद थारुलाई उम्मेदवार बनाएको थियो । नेपाली काग्रेसले उम्मेदवार बनाउनु र २१ वर्षीय मंगल प्रसाद थारु उम्मेदवारको लागि तयार हुनुमा थारु जातिको बाहुल्यता भएको बर्दियामा मंगलका बाबु राधाकृष्ण थारुको नामबाट भोट पाउन सक्ने आंकलन गरेर उनलाई नेपाली काग्रेस पार्टिले उम्मेदवार बनाएको थियो तर नेपाली काग्रेस र मंगल प्रसाद थारुको त्यो योजना सफल हुन सकेन ।२०५१ सालमा मध्यावधी निर्वाचनमा मंगल प्रसाद थारुलाई नेपाली काग्रेसले उम्मेदवार बनाएन । २०४८ सालमा २ वटा निवार्चन क्षेत्रबाट उम्मेदवार बनाएको नेपाली काग्रेसले आखिर २०५१ सालमा किन उम्मेदवार बनाएन ? नेपाली काग्रेसबाट उम्मेदवार हुन नपाएको रिसमा स्वतन्त्र चुनाब लडेका मंगल थारुले २ सय ८२ मत मात्र प्राप्त गर्न सके ।२०४८ सालमा सम्मानजनक मत ल्याएका थारुलाई यो मत स्वतन्त्र चुनाब लडे बापत अपमान जनक थियो ।उनी पनि निराश भएर नेपाली कांग्रेसको राजनीतिबाट टाढा भै सकेका थिए तर २०५६ सालमा बर्दिया जिल्लाको लालकिल्लाको भेदन गर्न पुनः नेपाली काग्रेसले राधाकृष्ण थारुको नाम लिएर लालकिल्ला ध्वस्त पार्ने निणर्य गर्यौ र मंगल प्रसाद थारुलाई बर्दिया क्षेत्र न. २ बाट उम्मेदवार बनायो र उनी त्यस निवार्चनमा विजय भए तर नेपाली काग्रेसमा लामो समयसम्म टिक्न सकेनन् । उनी नेपाली काग्रेस परित्याग गरी विजय कुमार गच्छदारको पछि लागेर मधेसी जन अधिकार फोरममा शामील भएर त्यही पार्टीबाट २०६४ सालमा संबिधान सभाको बर्दिया क्षेत्र न. २ बाट निवार्चन लडे तर अपमानजनक मत प्राप्त गरेर पराजित भए । २०७४ मा बर्दिया निवार्चन क्षेत्र न. १ मा बामदेब गौतम र नेपाली काग्रेस बर्दियाका जिल्ला सभापति संजय कुमार गौतम बिच प्रतिस्प्रधा हुने भए पछी नेपाली काग्रेसलाई फेरी मंगल प्रसाद थारुको सम्झना भयो ।तिनै मंगल प्रसाद थारुको बुई चडेर नेपाली काग्रेसले बामदेब गौतमसंग प्रतिस्पर्धा गर्ने निर्णय गर्यो र उनी लुम्बिनी प्रदेश सभा सदस्यको लागि उम्ेदवार भएर चुनाब लडे तर संजय कुमार गौतम संघीय संसदको निर्वाचन जीते मंगल पराजित भए । बर्दियाका राजनितिक विश्लेषकहरुको भनाई छ, नेपाली काग्रेस र त्यसका अवसरबादी नेताहरुलाई थारु जातिको सहानुभूती र समर्थन चाहिन्छ । त्यसैले मंगललाई उपयोग गर्छन् । आफ्नो आवश्यकता पुरा भए पछि चियाको गिलासबाट माखा झिके झै मंगललाई फाली दिन्छन् । नेपाली कांग्रेसको यो १४ औं महाधिवेशनमा गुलरिया नगर सभापतिमा नेपाली कांग्रेस बर्दियाले उनका सहोदर भाई श्याम प्रसाद थारुलाई उम्मेदवार बनाएर केही अवसरबादीहरुले थारुहरुको समर्थन हासिल गर्न खोजे ।स्वमं मंगलले पनि आफनो भाईलाई विजय गराउन सकेनन् । कतिपय काग्रेसी कार्यकर्ता भन्छन मंगलको आफनो केही जनादेश छैंन । कहीलेसम्म आफनो बाबुको नाम बेचेर खाने हो ? काग्रेसमा हाल दुई गुट देखा परेको छ । मंगल नगर अधिवेशनसम्म देउवा विरोधी गुटमा थिए भने हाल उनी क्षेत्रिय अधिवेशनका लागि बृहत एकता गरे भन्दै देउबा गुटमा गएका छन । आफनो भाईलाई नगर सभापतिमा जिताउन नसक्नेलाई देउबा गुटमा लगेर क्षेत्रिय अधिवेशनमा क्षेत्रिय उम्मेदवारहरुलाई विजय गराउँछन भनेर खुशीयाली मनाउन ब्यर्थ हुने छ । जे होस्, मंगल प्रसाद थारुको राजनीतिक इतिहासलाई हेर्ने हो भने मंगललाई नेपाली काग्रेस र त्यसका केही अवसरबादी नेताले प्रयोग गरेको मात्र देखिन्छ । मंगललाई पार्टीको कुनै जिम्मेवारी पद दिएर सक्रिय राजनीति गराउदै पार्टीमा अगाडी बढन नदिएको देखिन्छ ।

सुधांसु शर्मा र मंगल प्रसाद थारु जस्तै बर्दिया नेपाली काग्रेसमा आवद्ध सयांै युवाहरु आज पार्टीमा ओझेलमा परेका छन । बर्दिया जिल्ला त्रिकोणात्मक समाज भएता पनि मधेशी समुदायबाट यादब जाति मात्र अगाडी आउनु थारु समुदायबाट आजसम्म नेतृत्व तहमा कोही नपुग्नु र पहाडी समुदायका सक्षम युवाहरु ओझेलमा पर्नुमा लामो समयसम्म जिल्लाको नेतृत्व तहमा बसेका वर्तमान पार्टी सभापति संजय कुमार गौतमको नेतृत्वलाई दोषी मान्छन नेपाली काग्रेसका कयौ युवाहरु ।

विराटनगर अधिवेशनमा केन्द्रिय सभापतीको पदमा वि.पी.को विरुद्ध टेक बहादुर पन्थीले उम्मेद्वारी दिन लाग्दा सुवर्ण शमशेरले विरोध गर्दै भनेका थिए पन्थी सभापती हुने भए पार्टीलाई मैले कुनै पनि आर्थिक सहयोग गर्ने छैन र पार्टीबाट म बाहिरिने छु । शुरु देखिनै नेपाली कांग्रेसमा शक्ति, पैसा र ठुला नेताका नजिककालाई अवसर र महत्व दिने सामन्ती चलन अहिले सम्म छ । जसको निरन्तरता बर्दियाको कांग्रेसमा पनि छ ।