कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोट गाउँपालिकाअन्तर्गत पर्ने जुकेपानीका महिला पिँडालु खेतीतर्फ आकर्षित भएका छन् ।

अन्य खेतीभन्दा पिँडालु खेती गर्न सहज हुने भएपछि उनीहरु यसतर्फ आकर्षित भएका हुन् । तरकारी खेतीका लागि परिचित जुकेपानीका महिलाले अहिले पिँडालु खेतीबाट आफ्नो घर खर्च चलाउँदै आएका छन् ।

जुकेपानीकी सानुमाया तामाङले पिँडालु खेती गर्न थालेको १५ वर्ष भयो । पिँडालु खेतीबाट नै उनले आफ्नो घर खर्च धानेकी छिन्् । उनले अहिले सात कठ्ठा क्षेत्रफलमा पिँडालु खेती गरेकी छिन् ।

जुकेपानीमा पानीको अभाव भएका कारण धान, गहुँ, तोरीलगायतका बाली राम्रो हुँदैन । जसका कारण यहाँका अधिकांशले पिँडालु खेती गर्ने गरेको तामाङले बताइन् । पिँडालु खेती गर्न धेरै लगानी पनि नलाग्ने, मेहेनत पनि धेरै नपर्ने र राम्रो आम्दानी हुने भएपछि यहाँका महिला यसतर्फ आकर्षित हुँदै गएको उनको भनाइ छ ।

उनका अनुसार एकपटक लगाएपछि वर्षेनी बीउसमेत त्यही बोटबाट निस्कने भएकाले बीउ पनि खरिद गर्नुपर्दैन । वर्षेनी ३०÷४० क्विन्टलसम्म पिँडालु उत्पादन गर्दै आएकी सानुमाया तामाङले भनिन्, “पहिले–पहिले त हामीले पिँडालु डोकोमा बोकेर कावासोती बजार गएर धान साटेर ल्याउँथ्यो, पिँडालुसँग अरु सामान साट्थ्यौँ, तर अहिले धेरै सजिलो भएको छ, घरमै गाडी लिएर पिँडालु लिन आउँछन् ।”

अर्की किसान पूर्णमाया तामाङले पनि विगत १२ वर्षदेखि पिँडालु खेती गर्दै आएकी छिन् । अन्य कुनै आम्दानीको बाटो नहुँदा यसै पिँडालु खेतीबाट आफ्नो परिवारको पेट पाल्दै आएको विगत सम्झँदै उनले भनिन् । “पहिले त धेरै दुःख थियो । बाटोघाटो राम्रो थिएन । बजारसम्म हिँडेरै पुग्नुप¥थ्यो । डोकामा बोकेर पिँडालु बेच्थ्यौँ ।

धेरैजसो धान गहुँसँग साट्थ्यौँ । अहिले समय धेरै परिवर्तन भइसकेको छ । अहिले जुकेपानीको घरघरमा बाटो पुगेको छ”, उनले भनिन्, “अहिले त काठमाडौँ, बुटवल, पोखराबाट गाडी लिएर घरघरै पिँडालु लिन आउनुहुन्छ । अग्रिम बुकिङ गर्नुहुन्छ । बजारको लागि कुनै समस्या छैन ।”

पूर्णमायाले अहिले १० कठ्ठा क्षेत्रफलमा पिँडालु खेती गरेकी छिन् । उनले वर्षेनी ५० देखि ६० क्विन्टलसम्म पिँडालु उत्पादन गर्दै आएकी छिन् । गत वर्ष रु ४५ का दरले धार्नीमा बिक्री गरेको उनले बताइन् । पछिल्ला वर्षहरूमा रु एक लाखसम्म उनले आम्दानी गर्दै आएको बताइन् । पिँडालुको मूल्य निकै कम पाइने गुनासो उनको छ । यसपटक त प्रतिकिलोग्राम रु ६० सम्म बिक्री हुन्छ कि भन्ने आसमा यहाँका किसान छन् ।

पिँडालु खेतीले यहाँको समुदायलाई सामूहिकरूपमा काम गर्ने परम्पराको विकाससमेत गरेको छ । जुकेपानीको तामाङ टोलका २५ घरले पिँडालु खेती गरेका छन् । रोप्नुअघि जङ्गलमा गएर पातपतिङ्गर ल्याएर थुपार्छन् । पिँडालु रोप्ने समयमा धेरै खेताला लाग्छ । रोपेपछि माथिबाट पतिङ्गरले राम्रोसँग छोप्नुपर्छ ।

यो काम गर्न धेरै समय लाग्छ । खेताला पनि धेरै चाहिन्छ । २५ घरका सबै मिलेर सामूहिकरूपमा पालैपालो एकअर्काकोमा काम गर्ने गरेको अर्की किसान सम्झना तामाङले बताइन् । सबै मिलेर गर्दा खर्च नलाग्ने, समयको बचत हुने र मेहेनत पनि कम पर्ने उनको भनाइ छ । यहाँका २५ घरधुरीले पाँचदेखि १५ कठ्ठासम्म पिँडालु खेती गर्ने गरेको उनले जानकारी दिइन् ।

पिँडालुको व्यवसायिक खेतीका लागि कृषि पूर्वाधार, गुणस्तरीय बीउ, ढुवानी, सङ्कलन केन्द्र र बजार प्रवद्र्धनलगायतका कार्य सहज बनाउनुपर्ने किसानको जोड छ । यसका साथै किसानको क्षमता विकास, एकीकृत घुम्ती प्रयोगशाला सेवा, उत्पादन सामग्री सहयोग, कृषि यान्त्रिकरण, प्रशोधन तथा बजारीकरणमा सहयोग गर्नुपर्ने उनीहरुको भनाइ छ ।