भन्सार छलेर भारतबाट अवैधरूपमा लुकाइछिपाइ नेपाल भित्र्याइएको एक लाख ९२ हजार बराबरको ६४० केजी माछा प्रहरीले बरामद गरेको छ । झापाको गौरादह नगरपालिका–३ सहिदगेट अगाडिबाट मे १ च ३६३२ नंको छोटा हात्ती गाडीमा भारतबाट अवैधरूपमा ल्याइएको माछा प्रहरीले बरामद गरेको हो । सो माछा इलाका प्रहरी कार्यालय गौरादहले स्थानीय बुद्धिजीवी, पत्रकार जनप्रतिनिधिसहितको रोहबरमा खाल्डोमा हाली नष्ट गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भारतबाट बरफमा राखेर ल्याइने गरेको माछामा फरमालिन नामक नसड्ने केमिकल लगाएर ल्याइएको हुनाले मानव स्वास्थ्यमा समेत असर गर्ने भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र झापाका प्रमुख डा. विनय श्रेष्ठले जानकारी दिए ।