काठमाण्डौं । कञ्चनपुरमा पछिल्लो समय स्थानीय उत्पादन कम हुँदा बजारमा तरकारीको कमी हुनुका साथै मूल्य आकासिएको छ । मौसममा आएको फेरबदलका कारण नगदेबालीका रुपमा लगाइने तरकारीमा समस्या आएपछि उत्पादनमा समेत कमी आएको हो । कञ्चनपुर मण्डी व्यवसायी सङ्घका अनुसार स्थानीय तरकारी फर्सी, लौकी, भन्टा मण्डीमा आए पनि अन्य तरकारी भने भारतीय बजारबाट आयात भइरहेको छ । मण्डीका तरकारी व्यापारीहरुले भने बजारमा स्थानीय उत्पादन कम आइरहेको भए पनि तरकारीको अभाव भने नरहेको बताएका छन । यसैगरी कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार नयाँ तरकारी बजारमा आउन बाँकी र पुरानो उत्पादन सकिने बेला भएकाले बजारमा तरकारीको कमी देखिएको जनाएको छ ।