चालू आर्थिक वर्ष २०७८÷७९ को पहिलो नौ महिनामा (साउनदेखि चैतसम्म) निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्कअनुसार ६९ दशमलव ४४ प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो ।विभागको तथ्याङ्कअनुसार नौ महिनामा एक खर्ब ६० अर्ब ५७ करोड २९ लाख रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट ९४ अर्ब ७६ करोड ७१ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको थियो ।
चालू आवको नौ महिनामा निर्यातसँगै आयातमा समेत वृृद्धि भएको छ । नौ महिनामा ३१ दशमलव ९७ प्रतिशतले आयातमा वृद्धि हुँदै १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख रुपैयाँ बढीको आयात भएको छ । तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिमा ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख रुपैयाँ बढीको आयात भएको थियो । निर्यातको तुलनामा आयातमा वृद्धि हुँदा व्यापार घाटामा वृद्धि भएको छ । चालू आवको नौ महिनामा साढे १४ खर्ब रुपैयाँ बढीको आयात हुँदा २८ दशमलव ४७ प्रतिशतले व्यापार घाटा बढेको हो ।
चालू आवको नौ महिनामा नेपालले १३ खर्ब छ अर्ब ८९ करोड रुपैयाँ बढीको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा नेपालले १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो ।यस्तैगरी चालू आवको नौ महिनामै नेपालको वैदेशिक व्यापार ३४ दशमलव ९१ प्रतिशतले बढेको छ । यस अवधिमा १६ खर्ब २७ अर्ब २३ करोड ४९ लाख रुपैयाँ बराबरको पुगेको भन्सार विभागले जनाएको छ । तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिमा बाह्र खर्ब छ अर्ब १६ करोड २५ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।
विभागले सार्वजनिक गरेको चालू आवको पहिलो नौ महिनाको अवधिमा नेपालमा १६२ देशबाट १४ खर्ब ६६ अर्ब रुपैयाँ बढीको आयात भएको छ । तथ्याङ्कअनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । नौ महिनामा नेपालले भारतबाट नौ खर्ब १७ अर्ब २४ लाख रुपैयाँ बढीको आयात गरेको छ भने एक खर्ब २७ अर्ब ८९ करोड ५४ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ ।
नेपालले भारतसँग मात्रै सात खर्ब ७३ अर्ब ८० करोड ७० लाख रुपैयाँ बढीको व्यापार घाटा व्यहोरेको छ । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । चीनबाट नौ महिनामा दुई खर्ब ११ अर्ब पाँच करोड ८० लाख रुपैयाँ बराबरको आयात भएको छ भने ६२ करोड २८ लाख ६२ हजार रुपैयाँको मात्र निर्यात भएको छ । चीनसँग मात्र दुई खर्ब १० अर्ब ४२ करोड ५१ लाख रुपैयाँ बराबरको व्यापार घाटा रहेको छ ।