काठमाडौं । घरपालुवा सुंगुर बंगुर तथा जंगली बँदेल प्रजातीमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोग नेपालमा पनि देखा परेको छ । सुंगुर बंगुर तथा जंगली बँदेल प्रजातीमा लाग्ने यस्तो फिभर नेपालमा पनि देखा परेको पशु सेवा विभागले पुष्टि गरेको हो । अफ्रिकन स्वाइन फिभर रोगको आशंकामा नेपालबाट अष्ट्रेलियाको रिफरेन्स प्रयोगशालामा परिक्षणका लागि पठाइएको नमूनामा रोग पुष्टि भएको पशुसेवा विभागले जनाएको छ । ललितपुरमा पत्रकार सम्मेलन गर्दे विभागका महानिर्देशक डा. राम नन्दन तिवारीले उक्त रोगको आशंकामा नेपालबाट अष्ट्रेलियाको रिफरेन्स प्रयोगशालामा परिक्षणका लागि पठाइएको नमूनामा अफ्रिकन स्वाइन फिभर रोग पुष्टि भएको बताए । तिवारीले काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा क्षेत्रमा पालिएका बंगुरमा उच्च मृत्युदर देखापरेपछि नमूना संकलन गरि परिक्षणका लागि पठाइएको र जेठ दुई गते उक्त रोग पुष्टि भएको प्रतिवेदन प्राप्त भएको जानकारी दिए ।

उनले रोगको सघन निगरानी गर्ने क्रममा कागेश्वरी मनोहरा, किर्तिपुर, चन्द्रागिरी, टोखा, दक्षिणकाली र ललितपुरका केहि क्षेत्रमा संक्रमण फैलिएको र यसबाट १ हजार १९ सुंगुर तथा बंगुर मरेको प्रतिवेदन प्राप्त भएको उनले बताए । तिवारीले नाका कडाई गर्दा पनि रोग पुष्टि भएको उल्लेख गरे ।

बिभागले घरपालुवा सुंगुर बंगुरमा कुनै रोगको लक्षण देखिए तत्काल परिक्षण गर्न आग्रह गरेको छ । उपत्यकाका बङ्गुरमा यो रोग देखापरेकाले अन्यन्त्र फैलिन नदिन सतर्कता अपनाइएको पनि तिवारीले बताए । यो रोग लागेका सुँगुर र बङ्गुरको मासु राम्रोसँग पकाएर उपभोग गर्दा मानव स्वास्थ्यलाई कुनै असर नगर्ने बताइएको छ ।
यो रोग छिटो फैलिने भएकाले अन्य फार्ममा फैलिन नदिन उच्च सर्तकता अपनाउन पनि विभागले सुझाव दिएको छ ।

विभागका अनुसार यो रोग सङ्क्रमण भएमा सँगुर प्रजातिमा ज्वरो आउने, कान पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छटपटाउने लक्षण देखा पर्छन । यो रोगविरुद्ध हालसम्म कुनै खोप उपलब्ध नभएको र रोगविरुद्ध प्रभावकारी उपचार नहुने हुँदा रोग देखा परेमा ठूलो आर्थिक क्षति गराउने भन्दै माथिका लक्षण देखा परेमा सङ्घ, प्रदेश र स्थानीय तहमा रहेका पशुसेवासँग सम्बन्धित निकायमा खबर गर्न व्यवसायीलाई विभागले आग्रह गरेको छ । बिगतमा यो रोग अफ्रिकी महादेशमा मात्र सिमित रहेकोमा सन २०१८ मा चीनमा देखापरे पश्चात क्रमश भारत र भुटानमा समेत देखा परेको बिभागले जनाएको छ ।।