काठमाण्डौं । म्याग्दीको मङ्गला गाउँपालिका–२ रणवाङमा चैते धानको खेती सफल भएको छ । रणवाङका कृषकहरुले परिक्षणका लागि गरेको चैते धानखेती सफल भएको हो । यस क्षेत्रमा यसअघि चैते धान खेती भएको थिएन । माघको अन्तिम साता धुले ब्याड राखेर जमाएको धान चैत १२ गते रोपिएको थियो । करिब तीन रोपनी क्षेत्रफलमा लगाएको धानको बाला राम्रो लागेको र पाकेर भित्र्याउने तयारी गरेको किसानले बताएका छन् । बर्खामा लगाउने गौरी, जेठोबुढो जत्तिकै उत्पादन भएको उनीहरुको भनाई छ । रणवाङ समुन्द्री सतहदेखि एक हजार ५० मिटर उचाइमा अवस्थित छ । सम्म फाँट भएको यहाँ हालसम्म वर्षमा एकबाली मात्र धान खेती हुन्छ । रणवाङ भन्दा केही कम उचाइमा अवस्थित पिपलबोट, सेराफाँटका कृषकले केही वर्षअघि चैते धान खेतीको प्रयास गर्दा सफल भएको थिएन् । सिँचाई सुविधा भएकाले रणवाङमा चैते धान खेती गर्न सम्भव भएको बाइएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले चैते धानखेतीको सम्भाव्यता अध्ययन गरिने बताए । तराइ, भित्री मधेश र केही पहाडी जिल्लामा चेतै धान खेती हुने गरेको छ ।