स्याउ उत्पादनले महत्वपूर्ण मानिएको हिमाली जिल्ला मुस्ताङमा स्याउ बेर्ना आयत गरिएको छ । बुधबार ४ वटा ट्रकमार्फत १० हजार उच्चघनत्वको विरुवा ल्याइएको हो । २ महिनाअघि जिल्लाका किसानलाई वितरण गर्नुपर्ने बताइए पनि लकडाउनका कारण ढिलो गरी आयत भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई स्याउ जोन मुस्ताङले ४ जातका कलमी बेर्ना उपलब्ध गराएको हो । स्याउ जोनले इटालीयन उच्चघनत्वको स्याउ बेर्ना ल्याउन मनाङको एग्रो मनाङ प्राइभेट कम्पनीसंग संम्झौता गरेको थियो । स्याउ जोन र एग्रो मनाङको समन्वनमा इटालीदेखि भारतको कोलकत्ता हुँदै बेर्ना मुस्ताङ ल्याइएको परियोजना कार्यान्वयन इकाई स्याउ जोन मुस्ताङले जनाएको छ । जोनका अनुसार मुस्ताङ ल्याइएका बेर्नामा गोल्डेन डेलिसियस, रेड डेलिसियस, फुजी र गावा जातका छन् । स्याउ किसानले बगैंचा व्यवस्थापन गर्न स्याउ जोनको ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशत लगानी रहने गरी स्याउका बेर्ना झिकाइएको स्याउ जोन मुस्ताङका प्रमुख माधव लम्सालले जानकारी दिनुभयो । मुस्ताङमा स्थानीय जातको बेर्नाको मुल्य ७० रुपैयाँ छ भने आयतित बेर्नाको मुल्य १ हजार १ सय ५० रुपैयाँ पर्ने देखिएको छ ।