कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० लोहरौला क्षेत्रमा किसानले लगाएको तरकारी बालीमा सलहको प्रकोप फैलिएको छ । सोही क्षेत्रका किसान रोपाई गर्न खेतमा गएका बेला सलहले तरकारी खाइदिएको छ । स्थानीय लालबहादुर केवटका अनुसार १ सातामा बेच्न तयारी भएको तरकारी आधा घण्टामै नष्ट बनाएको छ । बिक्रीका लागि लगाइएको बोडी तथा करेलाबारीमा सलहको प्रकोप बढेको स्थानीयको भनाई छ । २० हजार रुपैयाँ ऋण लिएर लगाएको बालीमा सलहले क्षति पुर्याएको केवटको भनाई छ ।

यस्तै अर्का किसान उमेश केवट पनि सलहको मारमा पर्नुभएको छ । १५ हजार रुपैयाँ खर्च गरेर एक कट्ठा जमिनमा लगाएको बोडी र घिरौंला नष्ट भएको छ । सलहको प्रकोपमा परेका २ किसानसहित जिल्लामा आइतबार र सोमबार फट्यांग्राको ठुलो झुन्डले तरकारीमा क्षति पुर्याएको हो । जिल्लामा तरकारीको उत्कृष्ट पकेट क्षेत्र मानिएको बुद्धभूमि र आसपाशका क्षेत्रमा त्यसको क्षति दिनानुदिन बढ्दै गएको छ । लकडाउनको मारमा परेका किसानलाई अहिले सलहले अर्को समस्या थपिएको छ । सोही क्षेत्रका १० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको बोडी, करेला, घिरौंला र खुर्सानी खाएर नष्ट गरेको किसानहरुले बताएका छन । करिब १५ किसानको १० लाखभन्दा बढीको क्षति भएको छ । तर बुद्धभूमिसहित मुलुकभर सलहले क्षति गरेको समाचार सञ्चार माध्यममा प्रशारण भइरहे पनि त्यसको रोकथाम तथा उपचारमा सरकार नलागेको पिडित किसानहरुको आरोप छ ।