गण्डकी प्रदेशमा मध्य असारसम्ममा ३६ प्रतिशत रोपाईं सम्पन्न भएको छ । प्रदेशको कुल खेतीयोग्य जमिन १ लाख २२ हजार ६ सय ९५ हेक्टर क्षेत्रफल रहेकोमा सोमबारसम्ममा ३६.२७ प्रतिशत रोपाईं सम्पन्न भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक निलकण्ठ पोखरेलका अनुसार अघिल्लो वर्षको तुजनामा १ प्रतिशतले रोपाईमा बृद्धि भएको छ ।

अघिल्लो वर्ष असार १५ सम्ममा ३५.८० प्रतिशत रोपाई भएको थियो । गण्डकीमा यसवर्ष हालसम्म सबैभन्दा बढी म्याग्दीमा ७५ प्रतिशत र सबैभन्दा कम पर्वतमा १५ प्रतिशत रोपाईं भएको छ । कास्कीमा भने हालसम्म ५५ प्रतिशत रोपाईं सम्पन्न भएको निर्देशनालयले बताएको छ । त्यस्तै बागलुङमा ४५, तनहुँमा ३७.१०, स्याङजामा ३५, नवलपुरमा ३३.८५, गोरखा र लमजुङमा समान २० प्रतिशत रोपाईं भएको निर्देशक पोखरेलले जानकारी दिनुभयो । अहिलेसम्मको नतिजा अनुसार सन्तोषजनक भएको निर्देशनालयले जनाएको छ । समयमै मनसुन हुनु तथा कृषिमा भएको आधुनिकिकरणले रोपाई सहज भएको स्थानीयको भनाइ छ । असार मसान्तसम्ममा गण्डकी प्रदेशमा ९५ प्रतिशत रोपाई सकिनेसमेत निर्देशनालयका अधिकारीहरुले दाबी गरेका छन । तर बाँकी ५ प्रतिशतमा मकै काटेर धान रोप्नुपर्ने भएकाले साउन अन्तिमसम्म लाग्न सक्ने मन्त्रालयले जनाएको छ ।