काठमाडौं । पछिलो समय कञ्चनपुरका बिभिन स्थानीय स्तरमा लगाइएको परबरले बजार नपाउदा यहाँका किसानले परबर खेती गर्न छाड्दै जान थालेका छन् । कञ्चनपुरको महाकाली नगरपालिकाकामा सय बढी परिवारले परबर खेती गर्दै आएकामा हाल घटेर दुई वडाका २० देखि ३५ परिवारले मात्रै खेती गर्ने गरेका छन् ।

नगरपालिकाको दोधाराको परबर भारतको नयाँदिल्लीसम्म निर्यात हँुदै आएको थियो । भारतीय बजारमा निर्यात हुँदै आएको परबर भारतीय सीमा सुरक्षा बलले लैजानमा रोक लगाएपछि किसान घट्दै गएका हुन् ।विगतमा एउटै किसानले दैनिक ३० देखि ३५ क्विन्टल परबर उत्पादन गर्दथे । बजार नभएपछि हाल ३५ बढी परिवारले मुश्किलले दैनिक १५ क्विन्टल परबर उत्पादन गर्ने गर्दछन् । उत्पादित परबर हाल स्थानीय बजारसँगै महेन्द्रनगर र धनगढीसम्म बिक्री हुने गरेको छ ।

महाकाली नदीमा रहेको झोलुङ्गे पुलबाट साइकल र मोटरसाइकलमा परबर लैजानु पर्ने यहाँका किसानको बाध्यता छ । ढुवानी गर्न नसक्दा समेत उत्पादित परबरले बजार पाउन नसकेको किसानहरुको भनाइ छ ।

पहिले दश कठ्ठादेखि एक विघा क्षेत्रफलमा गरिदै आएको परबरखेतीबाट वार्षिक रुपमा यहाँका कृषकले विगतमा एक लाखदेखि पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएका थिए । हाल किसानले परबर बेचेर रु ४० हजारदेखि ७० हजारसम्म आम्दानी हुने गरेको उनीहरुको भनाइ छ । माघ, फागुनको महिना रोपेको परबलले वैशाखदेखि कात्तिकसम्म उत्पादन दिने गर्दछ ।