भोजपुर । भोजपुर जिल्लाको टक्सारमा करिब ३ करोड रुपैयाँको लागतमा सिँचाइ कुलो बनेपछि ८१ हेक्टर क्षेत्रमा सिँचाइ विस्तार भएको छ । विगत लामो समयदेखि खेती गर्नका लागि आकाशेपानीको भरमा बस्दै आएका त्यहाँका कृषकलाई सिँचाइ कुलो निर्माण भएपछि सहज भएको छ ।

कुलो निर्माणका लागि २ करोड ९६ लाख ८८ हजार रुपैयाँ लागत खर्च भएको सिँचाइ विकास डिभिजन कार्यालय भोजपुरले जनाएको छ । एशियाली विकास बैंकको ८८ दशमलब ३ प्रतिशत र जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भोजपरको ११ दशमलब ७ प्रतिशत लगानीमा ९ किलोमिटर लम्बाइको कुलो निर्माणको काम सम्पन्न भएको हो ।

सिँचाइ आयोजनाले भोजपुर नगरपालिका–१२ टक्सारका पँयापानी पारपानी, एयरपोर्ट, मालबाँसे, कोटडाँडा लगायत स्थानका १ सय ३७ घरपरिवारलाई प्रत्यक्ष लाभ पुगेको छ । धेरै सुक्खाग्रस्त क्षेत्र भए पनि त्यहाँ प्रशस्त मात्रामा धान तथा तरकारी उत्पादन हुने गर्दछ ।

सिँचाइका लागि सुविधा थपिएपछि कृषक निकै खुशी छन् । सिँचाइ विस्तार भएपछि धान तथा तरकारीबालीको समेत उत्पादन वृद्धि हुने किसानहरुको भनाइ छ । सिँचाइको सुविधा पुगेसँगै टक्सारको तल्लो भेग अहिले हराभरा बनेको छ ।।