नेपालमा उत्पादित अलैँची अब नेपालमै प्रशोधन गरिने भएको छ । अलैँची ठूलो हिस्सा बाहिर निर्यात गर्नुपरिरहेका बेला अब भनेस्वदेशमै प्रशोधन गरिने भएको हो । आउँदो मंसिरबाट प्रशोधन गर्नै तयारी भैरहेको छ । झापाको अर्जुनधारामा तीन करोड लागतमा प्रशोधन उद्योग निर्माण भइसकेको छ । अलैँचीलाई चार प्रकारमा वर्गीकरण गरेर खरीद गर्ने प्रावधान बनाएको छ । ठूलो अलैँची, मझौला अलैँची, सानो अलैँची र सामान्य अलैँचीका रूपमा उद्योगले खरीद गर्नेछ । गुणस्तरीय अलैँचीलाई १००÷१५० ग्रामको प्याकिङ गरेर निर्यात गरिने छ । अर्को प्रशोधनमार्फत ‘ड्रस’ बनाउने उद्योगको योजना छ । यस्तै अलैँचीलाई ‘माउथ फेवर’ वा मुखलाई सुगन्धित बनाउनका लागि अलैँचीको सानो गेडालाई प्रशोधन गरेर वितरण गर्ने प्रावधान छ । अहिलेसम्म अलैँचीलाई प्याकेजिङ नै नगरी बोरामा हालेर विदेश निर्यात गरिन्छ । यसरी निर्यात गर्दा सीमा निर्यात समस्यादेखि अलैँचीको भाउमा समेत तलमाथि हुने समस्या आउने गर्छ । नेपालमै उद्योग निर्माणपछि भने यस्ता समस्या न्यूनीकरण हुने अनुमान छ । झापामा सञ्चालनमा ल्याइने उद्योगले देशभर उत्पादित १५ प्रतिशत अलैँची मात्र प्रशोधन गर्न सक्ने जनाइएको छ ।।