इलामका कृषकहरुले यतिबेला रेड किवी टिप्न सुरु गरेका छन् । किवी टिप्न सुरु भएपनि बजारमूल्य भने कम पाएको कृषकहरुको भनाई छ । खाँदा गुलियो र फलमा झुस नहुने रेड किवी भदौ अन्तिम र असोजको पहिलो साताबाट नै पाक्न थाल्छ । तर, बजारमा उचित मूल्य नभएकाले समस्या भएको उनीहरुको गुनासो छ । सिजनको पहिलो उत्पादन भएपनि लामो लकडाउनका कारण किवीले विगतको जस्तो बजार नपाएको किवी कृषकहरुको भनाइ छ । परिपक्व नहुँदै टिपेर बेच्न हतारिने किसानको विगतको बानीले किवीको बजार प्रभावित भएको बताइएको छ । यो वर्ष उत्पादन सन्तोषजनक भएपनि मूल्य भने गत सालको तुलनामा आधा घटेको छ । इलाममा गत वर्षसम्म १ सय ५२ हेक्टर क्षेत्रफलमा किवी खेती विस्तार भएको छ भने एक हजार २ सय १५ मेट्रिकटन उत्पादन भएको छ । किबी उत्पादनको करिब २० प्रतिशत रेड किवी उत्पादन हुने गरेको छ ।।