रुपन्देहीको तिनाउ नदीको पर्यावरणीय सन्तुलन कायम गर्न माछाका भुरा छोडिएको छ । विश्व मत्स्य दिवसको अवसर पारेर रूपन्देहीको मायादेवी गाउँपालिकास्थित बेथरी पुल नजिकबाट तिनाउमा माछाका भुरा छोडिएको हो । एक लाख माछाका भुरा तिनाउ नदिमा छोडिएको छ । तिनाउमा माछाका भुरा छोडिएको यो पाँचौ पटक हो । पछिल्ला पाँच वर्षदेखि हरेक विश्व मत्स्य दिवसको अवसर पारी तिनाउमा भुरा छोड्ने गरिएको छ । यसवर्ष विभिन्न चार प्रजातिका एक लाख माछाका भुरा तिनाउमा छाडिएको लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । माछाले उपभोग मात्रै नबढाएर यसले नदीको पर्यावरणीय सन्तुलन कायम गर्दै पर्यटकसमेत भित्र्याउने भएकोले नदीमा माछाको संख्या बढाउन भुरा छोडिएको बताइएको छ ।