सरकारले तोकेको समर्थन मुल्यमा धान बिक्री गर्न नपाउँदा पर्साका किसानहरु समस्यामा परेका छन् । एकातिर विक्रीको समस्या र अर्कोतिर विचौलियाका कारण किसान मारमा परेका हुन् ।

सरकारले चालु आर्थिक बर्षका लागि धानको समर्थन मूल्य तोकिसकेको छ । तर, पर्साका किसानहरुले सरकारले तोकेको समर्थन मूल्य पाएका छैनन । उनीहरुले यसबर्षमा मात्र हैन बर्षेनी सरकराले तोकेको समर्थन मूल्यमा धान खरीद गर्न पाएका छैन । धानको उचित मुल्य नपाउँदा वर्षेनी लाखौं रुपैया बेहोर्न बाध्य छन् । मन्त्रिपरिषद बैठकले मोटा धानको मूल्य प्रतिक्यून्टल २ हजार ७ सय ३५ र मध्यम धानको मुल्य २ हजार ८८५ रुपैयाँ तोकेको छ । तर, विचौलीयाका कारण किसानहरु समस्यामा परेका छन् ।

वर्षेनी विचौलियाबाट कृषक ठगिरहँदा स्थानीय जनप्रतिनिधिहरु भने बेखवर जस्तै बनेका छन् । जनप्रतिनिधिहरु संगको मिलेमतोमा किसान मारा प्रवृतिले प्रशय पाइरहेको किसानहरुको गुनासो छ । यता खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्जले भने, धान खरिदका विषयमा कुनैपनि जानकारी प्राप्त नभएको भन्दै पन्छिएको छ ।

धान खेतिका लागि पर्सा जिल्ला उर्वर भूमीको रुपमा मानिन्छ । तर, किसानले उत्पादन गरेको हजारौँ क्विइन्टल धानको बजारीकरण गर्न सरोकारवाला निकायको ध्यान नपुग्दा वर्षेनी किसान भन्दा विचौलाया मोटाउँदै गएका छन् ।