प्रदेश १ मा पहिलो पटक मोरङको केरावारी गाँउपालिका वडा नम्बर ६ राङचामा कालिज पालन थालिएको छ । एक मेहनति किसानले पाखा वारीको सदुपयोग गर्दै कालिज पाल्न थाल्नु भएको छ ।
सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर ६ स्थाई वासिन्दा ४४ बर्षीय भुपेन्द्र भट्टराईले कृषि फर्मनै दर्ता गरेर कालिज पाल्न थाल्नु भएको छ । एक हजार पाँच सयको दरले १ हजार कालिजको चल्ला ल्याएर पालेको फार्मले मासुको लागि मात्रै नभएर ह्याचारी मार्फत चल्ला उत्पादन गर्ने लक्ष्य रहेको भट्टराईले बताउनु भयो । करीब डेढ करोड लगानीमा अढाई बिगाहा जमिनमा भट्टराईले कालिज पालन सुरु गर्नु भएको हो ।

भट्टराईले रिङनेक जातको कालिज पाल्न गरीरहनु भएको छ । घाटिमा रिङ जस्तो भएकाले कालिजलाई रिङनेक भनिन्छ । ३ बर्ष अघि नै फर्म दर्ता गराएका भट्टराईले कालिज पाल्न थालेको भने १ बर्ष मात्रै भयो । सुरुमा कालिज पालनका लागि नेपालको कानूनले नदिएपनि संशोधित वन ऐनले कालिजको व्यावसायिक पालन गर्न सक्ने व्यवस्था गरेपछि यसको पालन सुरु भएको हो । कालिजहरू प्रायः नेपालको पहाडी क्षेत्रको जंगलमा पाइन्छ । तर हाल फ्रान्सबाट भित्राइएका कालिजलाई व्यवसायीक रुपामा पाल्ने गरिन्छ । कालिज एक जंगली चरा हो । यो कुखरा जस्तै हुने भएकाले यस्लाई बन कुखुरा पनि भन्ने गरिन्छ । कालिजले सामान्य कुखुराको जस्तै प्रोटिन बढी भएको दाना खाने गर्दछन । कालिजको मासु सुत्केरी महिला र युरिक एसिड भएका लागि राम्रो हुने गरेको छ । त्यसैले पनि कालिजको माग बढ्दो छ । पछिल्लो समय युवाहरुको रोजाईमा कालिज पालन पर्न थालेको छ । कालिज सँगै भट्राईले लोकल कुखुरा, कड्कनाथ कालो कुखुरा,टर्की बटाई, बोयर, रैथाने, जमुना पारी जातका बाख्रा समेत पालन गर्नु भएको छ ।

ब्याबसायलाई २ वटा छोराले साथ दिई रहनु भएको छ । जेठा छोरा हरि बिबि ए अध्यष्न गरीरहेका छन भने कान्छो छोरा बिबेक आईटी । पढेकाहरुले कि जागिर खानु पर्ने कि त बैदेशिक रोजगारीमा जानु पर्छ भन्ने मान्यतलाई कृषिमा नयाँपन दिएर हटाउन खोजेको हरिको भनाई छ ।

केराबारी गाँउपालिका तथा वडा कार्यालयले पनि भट्टराईको ब्याबसायलाई सहयोग गरेको छ । व्यवसाय गर्न सहज होस् भनेर गाउँपालिकाले सडकको ट्रयाक खोलेर सडकको स्तर उन्नती गरीदिएको छ । यस्ता पौरखी युवाहरुबाट अरुले समेत पाठ सिक्न सकिन्छ ।