नेपालले बासमती धानको भौगोलिक हकका लागि युरोपियन युनियनमा दाबी विरोध गर्ने भएको छ । छिमेकी राष्ट्र भारतले बासमती धान र चामलमाथि एकाधिकार माग गर्दै युरोपियन युनियन (इयू)मा आवेदन दिएको छ ।

भारतको तर्फबाट इयूमा बासमतीको भौगोलिक संकेत दाबी गर्दै निवेदन परेको छ । युरोपियन युनियनमा भारतले निवेदन पेशा गरेसँगै नेपालको ध्यान यस तर्फ आकर्षित भएको हो । बासमती धान परापूर्वककालदेखि नेपालको विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन हुने र विदेशमा समेत निर्यात हुने भएकाले बासमतीमा नेपालको हक स्थापित हुनुपर्ने भन्दै नेपालले दाबी विरोध गर्न लागेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव र सरोकारवाला निकायका पदाधिकारीहरूको बैठकले उक्त निर्णय गरेको कृषि तथा पशुपंक्षी विकास मन्त्रायले जनाएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गत राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रले तोकिएको म्यादभित्र दाबी विरोध गर्ने निर्णय गरेको छ । नेपालले दाबी विरोध नगरे नेपालले विदेश निर्यात मात्र होइन, नेपालभित्रै पनि बासमती नामबाट कुनै पनि खाद्यवस्तु वितरण गर्न नपाउने अवस्था आउने सक्ने सरोकारवालाहरूले बताएका छन् ।