सरकारले उखुको समर्थन मूल्य तोकेको छ । प्रतिक्वीन्टल न्यूनतम् समर्थन मूल्य ५ सय ४४ रुपैयाँ ३३ पैसा तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य तोकेको हो । उखुको नयाँ समर्थन मूल्य ८ रुपैयाँ बढाएर प्रतिक्विन्टल ५ सय ४४ रुपैयाँ ३३ पैसा पु¥याइएको छ ।

लागत, ढुवानी र मुनाफा जोडेर कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको सिफारिस बुधबार मन्त्रिपरिषदमा पेश गरिएको थियो । नयाँ मूल्यमा लागत ३ सय ८६ रुपैयाँ १६ पैसा, ढुवानी खर्च तथा मुनाफा ९२ रुपैयाँ ८९ पैसा र सरकारले दिने प्रतिक्वीन्टल अनुदान ६५ रुपैयाँ २८ पैसा रहेको कृषि तथा पशुपन्छीं मन्त्रालयले जनाएको छ ।

तर, सरकारले तोकेको समर्थन मूल्यमा उखु किसानले आपत्ति जनाएका छन् । उखु किसानले केही दिन अघि उखुको मूल्य प्रतिक्विन्टल ६ सय १७ कायम गर्न माग गर्दे सर्लाही जिल्लाका चार उखु सङगठनले जिल्ला प्रशासन कार्यालय सर्लाहीमार्फत कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका थिए । चिनीको मूल्य एक किलोमा ३२ रुपैयाँले बढ्दा उखुको मूल्य भने निकै कम मात्रामा बढाउनु किसानलाई खेतीबाट विस्थापित गर्ने चाल भएको उखु किसानहरुको भनाई छ ।