समयमा रासायनिक मल नल्याउने दुई कम्पनीलाई सरकारले कारबाही गरेको छ । तोकिएको समयमा मल नल्याएपछि कृषि सामग्री कम्पनीले शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीलाई कारबाही गरेको हो । मल नल्याएपछि दुवै कम्पनीको धरौटी जफत गरेर कालोसूचीमा राख्ने निर्णय भएको कृषि सामग्री कम्पनीले जनाएको छ । ती दुई कम्पनीले डिसेम्बर पहिलो हप्ता मल ल्याउने प्रतिबद्धता जनाएका थिए । शैलुङले २५ हजार टन युरिया मल ल्याउने सम्झौता गरेको थियो। मल नल्याएपछि शैलुङको चार लाख दुई हजार पाँच सय डलर धरौटी जफत गरेको कम्पनीले जनाएको छ । त्यसैगरी, मुक्तिनाथ कृषि कम्पनीले २० हजार मेट्रिक टन डिएपी र २५ हजार मेट्रिक टन युरिया मल ल्याउने सम्झौता गरेको थियो । मुक्तिनाथले युरिया ल्याउन राखेको तीन लाख ९९ हजार डलर र डिएपीको तीन लाख ९७ हजार डलर धरौटी जफत गर्ने निर्णय भएको छ । सम्झौता तोडेपछि पुनः टेन्डर आह्वान गरेर रासायनिक मल ल्याउने कृषि सामग्रीले जनाएको छ । कृषि सामग्रीले शैलुङको तेस्रो ठेक्का रद्द गरेको हो । यस अघि दुईवटा ठेक्का रद्द गरिसकेको छ । यसअघि मल नल्याउने होनिको मल्टिपल कम्पनीलाई पनि कारबाही गरिएको थियो ।