जुम्लाका किसानले उत्पादन गरेका स्याउका विरुवा जिल्लाबाहिर निर्यात हुन सुरु भएको छ । जिल्ला बाहिरका किसान जुम्ली स्याउको विरुवा लिन नर्सरीमै पुग्ने गर्दछन् । यहाँका एक जना किसानले बार्षिक ६ हजार भन्दा बढी विरुवा बेच्दै छन् । जुम्लाबाट रेड, रोयल र गोल्डेन जातको स्याउ जिल्ला बाहिर निर्यात हुँदै आएको छ । स्याउका विरुवा रोप्ने सिजन आउन बाँकी भएपनि तातो हावापानी भएको जिल्लामा स्याउ रोप्न थालिएको छ । किसानका अनुसार नर्सरीमै प्रति विरुवाको मूल्य ४० रुपैयाँ पर्छ । यहाँको विरुवा बझांङ, बाजुरा, दैलेख, सोलुखुम्बु, ताप्लेजुंङ, डोटी र जाजरकोटसम्म निर्यात हुन्छ । चिसो हावापानीमा निरोगी विरुवा पाइने भएकोले सबै किसानको ध्यान जुम्लामा केन्द्रित हुने गरेको किसान बताउँछन् । हाल जुम्लामा स्याउ नर्सरी १ सय १० छन । तर ७५ नर्सरी धनीले सक्रिय रुपमा विरुवा उमारिरहेका छन् । स्याउका विरुवा यहाँका किसानको प्रमुख आमदानीको स्रोत हुन् । यहाँ ३८ सय हेक्टरमा स्याउ रोपिएको छ ।