नेपाल कृषि अनुसन्धान परिषद् नार्क र अन्य निकायले उन्मोचन गरेको बीउ १५ प्रतिशतमा मात्र प्रयोगमा आएका छन् । त्यसमध्ये सबैभन्दा बढी गँहुको बीउ प्रयोगमा आएको छ भने सबैभन्दा कम धानको बीउको प्रयोग भएको छ ।

नार्कले उन्मोचन गरेको बीउले नेपालको उत्पादनमा ३० देखि ९० प्रतिशत योगदान दिएको तथ्याङकले देखाएको छ । नेपालमा हालसम्म विभिन्न ७७ वटा बालीका लागि ६ सय ८९ वटा जातका बीउ सिफारिस भएका छन् । तीमध्ये नार्कबाट मात्र २ सय २१ वटा जातका बीउ उन्मोचन भएका छन् । भने ९० वटा उन्मोचनको प्रक्रियामा रहेको नार्कले जनाएको छ । आर्थिक वर्ष २०७७÷७८ मा नेपालाम १४ लाख ७३ हजार ७ सय ७४ हेक्टरमा धानबाली लगाएकोमा त्यसको ३० प्रतिशत अर्थात चार लाख ४२ हजार १३२ मा हेक्टरमा नार्कबाट उन्मोचन गरिएको धानका जात लगाइएको थियो । भने उक्त बीउबाट करिब १६ लाख ८८ हजार ९४५ मेट्रिक धान उत्पादन भएको छ ।

किसानले नार्कबाट उन्मोचन भएको धान बीउ भन्दा गहुँको बीउ धेरै प्रयोग गरेका छन् । नार्कका अनुसार किसानहरुले ९४ प्रतिशत नार्कबाट विकसित भएको गहुँ लगाएका छन् । नेपालमा औपचारिक र अनौपचारिक गरी दुुई बीउ प्रणाली अपनाइएको पाइन्छ । जसमा सरकार र निजी व्यवसायबाट कृषकलाई उपलब्ध गराइने बीउ बुझिन्छ । ८५ प्रतिशत बीउ कृषक आफैले राखेको वा कृषकबीच आदान प्रदानबाट प्रयोग भएको छ ।

आर्थिक वर्ष २०७६÷७७ मा नेपालमा सात लाख तीन हजार ९९३ हेक्टरमा गहुँ लगाइएको थियो । त्यसमध्ये ९४ प्रतिशत अर्थात छ लाख ६१ हजार ७५३ हेक्टरमा नार्कबाट विकसित गहुँका जात लगाइएको थियो । नार्कले आर्थिक वर्ष २०७५÷७६ मा काभ्रे, बागलुुङ, दैलेख, सुनसरी, बारा, रुपन्देही र कैलालीमा गहुँबारे अध्ययन गरेको थियो । सो अध्ययनअनुसार गहुँका पुराना तथा स्थानीय जातलाई प्रतिस्थापन गर्न सके उन्मोचित गहुँका जातले राष्ट्रिय आम्दानीमा वार्षिक १६ अर्ब रुपियाँको योगदान पुग्ेन दाबी नार्कले गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०७५÷७६ मा नार्कबाट उन्मोचन गरिएको मकै करिब ७३ प्रतिशत क्षेत्रफलमा, आलुखेती मध्ये ५१ प्रतिशमा नार्कबाट उन्मोचन भएको आलुुको बीउ लगाएको थियो । स्थानीय आलुका जातलाई प्रतिस्थापन गरी नार्कबाट उन्मोचित आलुका जात लगाएमा राष्ट्रिय आम्दानीमा वार्षिक १५ अर्ब योगदान पुग्ने जनाइएको छ ।

त्यस्तै गोलभेँडा खेतीमध्ये ३५ प्रतिशतमा मात्र नार्कबाट उन्मोचित बीउ प्रयोग भएको छ । बीउबिजन निर्देशनालयको तथ्याङ्कअनुसार सरकारले विगत ६० वर्षदेखि विभिन्न बालीका बीउ उन्मोचन गर्नुका साथै सिफारिस र दर्ता गर्दै आएको छ । सबभन्दा पहिले मध्य पहाडी क्षेत्रका लागि २०१७ सालमा गहुँको लेर्मा ५२ नामक जातको बीउ उन्मोचन भएको थियो । २०१७ देखि हालसम्म सिफारिस भएकामध्ये २०७७ मै मात्र धान, मकै, गहुँ, पालुङ्गोका विभिन्न १७ वटा जात सिफारिस भएका छन् ।