स्याङ्जा । काठको ठेकी बनाउने पेशा सङ्कटमा परेको छ । स्याङ्जाको चापाकोटका चुँदार समुदायले गर्दै आएको ठेकी बनाउने पेशा नयाँ पुस्तामा हस्तान्तरण नभएपछि सङ्कटमा परेको हो । मिहेनतअनुसार आम्दानी नहुने र बजारमा आएका आधुनिक भाँडाकुँडाका कारण ठेकीको व्यापारमा कमी आएका कारण सो पेशा सङ्कटमा पर्दै गएको छ । नयाँ प्रबिधिबाटठेकी बनाउन नसक्दा पेशा सङ्कटमा परेको चापाकोटका नगरपालिका–९ का लिलबहादुर बिकको भनाइ छ ।

गाउँमा दुःखसंग बनाइने ठेकीको कामभन्दा वैदेशिक रोजगारी सहज मानेर युवा विदेशिएका कारण सीप हस्तान्तरणमा समस्या भएको हो ।ठेकीबनाउनका लागि आवश्यक कटहरको काठ पर्याप्त मात्रामा नपाइने भएकाले पनि यो पेशा गर्नेलाई समस्या हुने गरेको छ । चापाकोटका उक्त समुदायले बनाउने ठेकीका लागि आवश्यक कटहरको काठ चापाकोटमा अचेल निकै कम मात्रामा पाइन्छ । नगरपालिका भन्दा बाहिर पाइने काठ ढुवानी गरेर चापाकोट ल्याउँदा लागत बढ्ने भएकाले ठेकी बेच्न कठिन हुने गरेको छ। बजारमा पाइने आधुनिक ठेकाभाडाले गर्दा यो पेसा संकटमा परेको अर्का ठेकी ब्यापारी थानेश्वर बिकको भनाइ छ ।

एकै पटक धेरै काठ ल्याउँदा सामुदायिक वन तथा जिल्ला वन कार्यालयले बाधा सिर्जना गर्ने र थोरै थोरै गरेर काठ ल्याउँदा लागत बढ्ने गरेको ठेकी ब्यापारीकोभनाइ छ । चापाकोटमा चुँदारा परिवारको बसोबास बाक्लै छ।तर उनीहरुमध्ये १ परिवारले मात्र ठेकी बनाउने पेशालाई अँगाल्दै आएका छन् । चापाकोटमा उत्पादन भएका ठेकी पहिले–पहिले पाल्पा, स्याङ्जा, गुल्मी, प्यूठान, म्याग्दी, पर्वत,रुपन्देही,नवलपरासी,तनहुँ,कास्की लगायत जिल्लामा बिक्री हुने गरेको भए पनि पछिल्लो समय ठेकीको माग घट्दै गएको छ । पुराना पुस्ताका केही व्यक्तिले ठेकीको उत्पादन गरेर बिक्री वितरण गर्दै आएका छन् ।काठको ठेकीमा उत्पादन गरेको दहि,मोही र घ्यू मिठो हेने बुढापाकाको भनाइ रहदै आएको छ ।

अहिले कटहरको काठबाट बनेको चार मानाको ठेकी बनाउनका लागि पाच जना कालिगढलाई ४ घण्टासम्म लाग्छ । भाँडीको लोती घुमाउन चार जना आवश्यक पर्छ । एक जनालाई अरू थप काममा लगाइने गरिन्छ । बञ्चरो, भाँडी थेवे, फलाँसी, बाँक र निकानको सहयताले ठेकी बनाउँदा दुर्घटनाको जोखिम समेत उत्तिकै हुन्छ ।अचेल गाउघरमा गाइ भैसी पाल्ने कृषक कम हुदै गएपछि काठको ठेकीको बिक्रि कम भएको ब्यापारीको अनुमान छ ।