हिमाल न्यौपाने, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाका दलित महिलाहरुले सहकारी मार्फत सामुहिक आलु खेती शुरु गरेका छन् । त्यहाँका ३० जना दलित समुदायका महिलाहरु मिलेर स्थापना गरेको आँधीखोला आलु उत्पादक सहकारी संस्था मार्फत सामुहिक आलु खेती शुरु गरिएको हो ।

स्याङ्जाको वालिङ नगरपालिकाका दलित महिलाहरुले सहकारी मार्फत सामुहिक आलु खेती शुरु गरेका छन् । वालिङ ९ का ३० जना दलित समुदायका महिलाहरु मिलेर स्थापना गरेको आँधीखोला आलु उत्पादक सहकारी संस्था मार्फत सामुहिक आलु खेती शुरु गरिएको हो । उनिहरुले वालिङ बामलेटारमा ५ रोपनी खेत लिजमा लिएर आलु लगाउन शुरु गरेका हुन् । कोभिड १९ का कारण आफूहरु मारमा परेको बताउदै संस्थाकी अध्यक्ष सुनिता बिकले सामुहिक आलु खेतीबाट महिला दिदिबहिनिहरुको जीवनस्तर उकास्नमा सहयोग मिलेको बताउनुभयो। त्यस्तै कोभिड १९ माहामारीका कारण आफूहरुमा आर्थिक समस्या पर्ने अवस्था आए पछि महिलाहरु एकजुट भएर सामुहिक खेतीमा लागेको समुहकी कोषाध्यक्ष सुबिना बिकले बताउनु भयो ।

वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालित “कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तर्गत सामुहिक आलु खेती गराईएको हो । आलु प्राबिधिकहरुको प्रत्यक्ष निगरानी र सल्लाहमा लगाईएको संस्थाका अध्यक्ष कविता तिवारीले बताउनु भयो । कोभिड प्रभावितहरुलाई उद्यमी बनाई आर्थिक रुपमा सवल र सक्षम बनाउने गरी सामुहिक खेतीलाई प्रोत्साहन गरिएको संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीका गण्डकी तथा लुम्विनी प्रदेश प्रमुख सुदिप अर्यालले बताउनु भयो । स्थानीय साझेदारसँग मिलेर कोभिड प्रभावितहरुलाई उत्पादन तर्फ जोड दिदै आएको अर्यालको भनाई छ ।

परियोजना अन्तर्गत ३ वटा समुह तथा सहकारी मार्फत सामुहिक आलु खेती गरिएको छ । त्यस्तै गाँउ गाँउमा नर्सरी स्थापना गरी उत्पादन बढाउने अभियान चलिरहेको छ । परियोजनाले पशुपालन, कृषि तथा अन्य उत्पादनलाई दीगो रुपमा अगाडि बढाउने काम गरिरहेको छ । स्मार्टसिटीको अवधारणामा अगाडि बढिरहेको वालिङ नगरपालिकाका १४ वटै वडामा उत्पादन बढाउने गरी बिभिन्न अभियान शुरु गरिएको वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले बताउनु भयो ।वालिङ नगरपालिकाले बातावरण र माटो सुहाउदो उत्पादनमा पछिलो समय जोड दिएको छ ।