कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा कुमारी अर्यालले कालिमाटी तरकारी बजारलाई व्यवस्थित गर्ने योजनासहित उपस्थित हुन कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई निर्देशन दिनुभएको छ । मंगलबार कालीमाटी बजार अनुगमन गर्दै मन्त्री अर्यालले स्टल र सरसफाइका बिषयमा कार्यतालिका र कार्यान्वयन लिएर फागुन १ गते मन्त्रालयमा उपस्थित हुन समितिलाई निर्देशन दिनुभएको हो । अनुगमनका क्रममा मन्त्री अर्यालले तरकारी, माछा, भाडा, मूल्य र स्टललगायतका बारेमा जानकारी लिनुभएको थियो ।

उहाले फोहोर व्यवस्थापन र स्टललाई व्यवस्थापन गर्न आवश्यक रहेको भन्दै अव मन्त्रालय र बजार समितिबिच छलफल गरी तत्काल एउटा निश्कर्षमा जाने बताउनुभयो । यस्तै बजार व्यवस्थापन गर्न केन्द्रीय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्र बालाजुमा माछा बजार खोल्न पहल सुरु गर्ने पनि उहाले बताउनुभयो । मन्त्री अर्यालले किसानको पसिनाको उचित मुल्य प्राप्त गर्नुपर्ने बताउँदै बजार र किसानलाई प्रत्यक्ष जोड्ने विधिको निम्ति मन्त्रालयले सोच बनाएको जिकिर गर्नुभयो । उत्पादनलाई बढावा दिने तथा उत्पादनलाई बजारमा विक्रि हुने वातावरण बनाउन सरकारको तर्फबाट योजना ल्याउने उहाले जानकारी दिनुभयो ।

उहाले किसानलाई मलको अभाव हुन नदिने दावी गर्नुभयो । साथै उहाले कोरोनाका कारण घाटामा गएका व्यापारीलाई भाडामा केहीँ छुट पनि दिने बताउनुभयो । कालीमाटी तरकारी बजारबाट किसान र सर्वसाधारणको गुनासो आएपछि मन्त्री अर्यालले अनुगमन गर्नुभएको हो ।