देउखुरी । दाङमा विगत तीन वर्षदेखि बन्द रहेको माटो परीक्षणको काम पुनःसञ्चालनमा आएको छ । कृषि ज्ञान केन्द्र घोराहीमा माटो परीक्षणको काम सञ्चालनमा आएको हो । माटो परीक्षण कार्य सञ्चालनमा आएपछि यहाँका किसानलाई राहत भएको छ ।

किसानको खेतीयोग्य जमिनको नमूना माटो परीक्षण गरी त्यसमा भएका चारवटा तत्वको पिएच, नाइट्रोजन, फस्फोरस र पोटासको गुणत्मक नतिजा दिनसक्ने कृषि ज्ञान केन्द्रका प्रमुख सन्देश धितालले जानकारी दिए । दाङका किसानलाई बाँकेको खजुरामा माटो परीक्षण गर्न जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

माटोको नमूना प्रयोगशाला सञ्चालनमा आएपछि सबै किसानले आफ्नो खेतबारीको प्रतिनिधित्व हुने गरी कुन बाली लगाउने हो त्यसको जरा कति सतहमा जान्छ त्यस्तो ठाउँको माटो ल्याउनुपर्छ भन्ने जानकारी हुन्छ । माटो परीक्षण गर्न ल्याउनुभन्दा पहिले कुन मल र कति राखेको छ त्यसको पनि जानकारी किसानले दिनुपर्छ ।

किसानको खेतबारीबाट आधा किलोजति माटो राम्रोसँग ९छायाँमा० सुकाएर सुक्खा माटो कृषकले ज्ञान केन्द्रमा ल्याएपछि त्यसको जाँच हुने प्रमुख धितालले जानकारी दिए । घोराहीमा भएको परीक्षण केन्द्रमा दाङका किसानले निःशुल्करूपमा माटो परीक्षण गर्ने सुविधा छ । अहिले कार्यालयसँग एक हजार ५०० सम्म परीक्षण गर्ने क्षमता रहेको छ । माटो परीक्षणको नतिजा एक दिनमै किसानलाई दिन सकिन्छ र एक दिनमा ३० देखि ५० वटासम्म परीक्षण गर्न सकिने उनले जानकारी दिए ।

जिल्ला कृषि विकास कार्यालय हुँदा माटो परीक्षणको दरबन्दी र बजेट थियो । देश सङ्घीयतामा गएपछि कार्यालय समायोजन भएर ज्ञान केन्द्र भएपछि दरबन्दी र बजेट अभावले माटो परीक्षण कार्यलाई निरन्तरता दिन सकिएको थिएन । अहिले प्रदेश सरकारको वार्षिक बजेटलाई परिचालन गरेर काम थालेको उनले बताए । रासस