नेपाल ह्याचरी सङ्घले बोइलर चल्लाको मूल्य बढाएको छ । आज देखि लागू हुने गरी प्रतिचल्लामा रु पाँच रुपैयाँ बढाइएको हो । यसअघि प्रतिचल्ला ८५ रुपैयाँ तिर्दैै आएका किसानले अब प्रतिचल्ला रु ९० तिनुपर्नेछ ।

अहिले देशभरि नै बोइलर चल्लाको माग उच्च भएको र उत्पादन कम भएको कारण चल्लाको मूल्य बढेको नेपाल ह्याचरी सङ्घले जनाएको छ । चल्लाको मूल्य ९० रुपैयाँ कायम रहदा ह्याचरीहरुले भने १०५ रुपैया सम्ममा किसानलाई चल्ला बेचिरहेका छन् ।

यता अस्वाभाविक रुपमा चल्लाको मूल्य वृद्धि भएको भन्दै राष्ट्रिय कुखुरा पालक किसान संघर्ष समितिले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा निवेदन दर्ता गरेको छ । राष्ट्रिय कुखुरा पालक किसान संघर्ष समितिका संयोजक बिष्णु खड्काले चल्लाको मूल्य बृद्धि गर्ने ह्याचरी उद्योगीको कदमले स–साना किसानहरु मारमा परेको बताउनुभयो ।

यसरी चल्लाको मनोमानी मूल्य बृद्धि गर्दा सरकारी निकाय मौन रहेको हुदा कालोवजारी सँग सरकारको पनि मिलेमतो रहेको उहाँले दाबी गर्नुभयो । मनोमानी ढंगबाट बदाइएको मुल्य फिर्ता नहुने हो भने चरणबद्ध रुपया आन्दोलनमा उत्रिने संघर्ष समितिले घोषणा गरेको छ । पछिलो समय कुखुरामा देखा परेको वर्डफ्लु महामारीको कारण चल्ला हाल्न किसान डराएका छन् । यस्तै फागुन ३ गते देखि लागु हुने गरि जीउँदो बोइलर कुखुराको दरमा पनि १० रुपैयाले वृद्धि भएर २६० पुगेको छ ।

यता सधैँ उतारचढाव भइरहने कुखुराको अण्डाको मूल्य भने घटेको छ । उत्पादन बढेको र खपत घटेसँगै मूल्यमा गिरावट आएको हो ।