सरकारले कृषि अनुदानमा बर्षैनी अवौं रकम खर्च गर्दे आएपनि च्याउ कृषकको हक हितका लागि भने केही नगरेको व्यवसायिहरुले गुनासो गरेका छन् । महालक्ष्मी च्याउ कृषक समुहको वार्षिक साधारण सभामा व्यवसायीहरुले यस्तो गुनासो गरेका हुन् ।

ललितपुरको महालक्ष्मी नगरपालिकामा व्यवासायीक च्याउ खेती गर्ने कृषकहरुलाई एकिकृत साथै किसानका समस्या, उत्पादन, बजारीकरणमा महालक्ष्मी च्याउ कृषक समुहले सहयोग गर्दै आएको छ । २०७६ साल माघ २५ गते देखि कृषकको हक हितमा काम गर्न थालेको समूहले बिहीबार प्रथम साधरणसभा सम्पन्न गरेको छ । साधरण सभामा महालक्ष्मी च्याउ कृषक समूहका अध्यक्ष दिपक रोकायाले कोरोना भाइरसका कारण लक्ष्य अनुसारको काम गर्न नसकिएको बताउनुभयो । कोरोना महामारीका बिचमा समुहले कृषकका लागि स्थानिय तहबाट सिम्पोलिक प्लास्टिक र च्याउको आवश्यक बिउ बिजन कृषिकहरुलाई अनुदानमा उपलब्ध गराएको रोकायाले बताउनुभयो ।

समुह सञ्चालनमा आएपछि च्याउको बजारीकरणमा सहज भएको बताउँदै किसानहरुले पहिले भन्दा अहिले राम्रो मूल्यमा च्याउ विक्री गर्न पाउँदा आयआर्जनमा समेत बृद्धि भएको बताएका छन् । च्याउमा पाइने विभिन्न औषधीय गुणका कारण फर्म मै खोजि खोजि उपभोक्ता ताजा च्याउ खरिद गर्न आउने भएकाले बजारको पनि समस्या नरहेको किसानको भनाई छ ।

काठमाडौंको कालिमाटीदेखि कोटेश्वर, बानेश्वर, जडिबुटी, गठ्ठाघर, चाबहिल, जोरपाटी, टुकुचा,ग्वार्खो, बालाजुलगायत थुप्रै बजारमा च्याउको माग बढ्दो छ । च्याउको माग उच्च रहदा भने यसको उत्पादन र प्रवद्र्धनमा सरकारले ध्यान नदिएको च्याउ उत्पादक किसान संघ नेपालका अध्यक्ष प्रेमनारायण अधिकारी बताउनुहुन्छ । सरकारले अर्बौं रुपैयाँ अनुदानमा बाडेपनि च्याउ प्रवर्दनमा वास्ता नगरेको अधिकारीको भनाई छ ।

कार्यक्रममा महालक्ष्मी नगरपालिकाका किसानहरुले उत्पादन गरेका विभिन प्रजातिका च्याउको प्रदशनी स्टल राखिएको थियो भने उपस्थित सहभागीहरुलाई च्याउका विभिन परिकारहरु समेत पस्किएको थियो । आगामी दिनमा समूहले सदस्य संख्या बढाई कृषकहरु संग सहकार्य र उत्पादन वृद्धि गरि स्थानिय र नजिकको तरकारी बजारसंग समन्वय गरी बजार व्यवस्थापनको लागि पहल गर्ने प्रतिद्धता जनाएको छ । समूहले साधारण सभामा वार्षिक प्रतिवेदन पनि प्रस्तुत गरेको थियो ।