सरकारले बङ्गलादेशबाट खरिद गरेको साढे सात हजार मेट्रिक टन युरिया मल कलकत्ता बन्दरगाह आइपुगेको छ । बङ्गलादेशबाट पहिलो लटमा २० हजार मेट्रिक टन मल ल्याउन लागिएकोमा सात हजार मेट्रिक टन मात्रै कलकत्ता आइपुगेको हो । आइपुगेको मलको प्याकेजिङ सुरु गरिएको छ ।

बङ्गलादेशदेखि ल्याइएको २० हजार मेट्रिक टन मल विराटनगर, वीरगन्ज र भैरहवामा झार्ने योजना भएको कृषि सामग्री कम्पनी लिमिटेडको छ । लिमिटेडका अनुसार बाँकी मल पनि ढुवानीकर्ता भनिएको यूएईको कम्पनी जेन्ट्रेड एफ.जेड.एफ.ले बंगलादेशको कारखानाबाट बुझेर पानी जहाजमा लोड गरिसकेको छ ।

कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख नेत्र भण्डारीले मल अब केहिदिन भित्रमा नै नेपाल आइपुग्ने बताउनुभयो । नेपाल सरकारले बंगलादेशको सरकारसँग ५० हजार मेट्रिक टन युरिया मल किन्नका लागि २०७७ पुस २ गते ‘जी टू जी’ सम्झौता गरेको थियो ।