शिवा शार्मा, बर्दिया । बर्दियामा किसानको नाममा छुट्याएको बजेटको दुरुपयोग भएको छ । प्रदेश सरकारले जडिवुटी प्रशोधन गरि तेल उत्पादन कार्यक्रमका लागि छुट्याएको लाखौँ रकम दुरुपयोग भएको हो ।

बर्दियाको ठाकुरबाबा नगरपालिका ५ मा किसानका लागि छुट्याएको लाखौँ बजेट दुरुपयोग भएको पाइएको छ । स्थानीय चन्दन चटिया महिला सामुदायिक वन उपभोक्ता समुहलाई जडिवुटी प्रशोधनका लागि प्रदेश सरकारले चार लाख ९० हजार बजेट छुट्याएको थियो । उक्त बजेटले पनि अपुग हुनेभएपछि थारु महिला उत्थान केन्द्र गुलरियाले पाँच लाख आर्थिक सहयोग गरेको महिला उत्थान केन्द्रले जनाएको छ ।

मेन्था लगायतका विभिन्न जडिवुटीलाई प्रशोधन गरी तेल उत्पादन गर्ने प्रशोधन कन्द्रको उदेश्य हो । “एक जिल्ला, एक जडिवुटी” कार्यक्रम अन्तरगत सञ्चालनमा ल्यउाएको जडिवुटी प्रशोधन उद्योग अहिले पूर्णरुपमा बन्द छ । स्थापना भएको केहिदिनमा नै बन्द भएको उद्योग सञ्चालनको लागि कसैले पहल थालेको देखिदैन । तर, उद्योग बन्द हुनुमा चन्दन चटिया महिला सामुदायिक वन उपभोक्ता समुह मुख्य दोशी रहेको कतिपयको दावि छ ।

किसानको जीवनस्तर माथि उठाउने उदेश्यका साथ स्थापना भएको उद्योग शंकटमा पर्दै गएपछि स्थानीयहरु चिन्तित बनेका छन् । उद्योग पूनः सञ्चालनका लागि स्थानीय सरकार र सरोकारवाला निकायको कुनै चासो छैन । यद्यपी चन्दन चटिया महिला सामुदायिक वन उपभोक्ता समुह पनि आफुहरुको कारण उद्योग बन्द भएको स्वीकार्न तयार छैन ।

प्रशोधित जडिवुटीबाट उत्पादित तेल विक्रिवितरण गरी जीवनस्तर माथि उकास्ने किसानको लक्ष्य थियो । तर, उद्योग राम्रोसँग सञ्चालन हुन नपाइ बन्द भएपछि उनीहरुको सपनामा तुसारापात भएको छ ।